OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १८, २०७९जुम्ला
८२० पटक

१८ जेठ २०७९ बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने ध्येयले प्रतिष्ठान र मेमोरियल विश्वविद्यालय क्यानडाबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलले पाँच वर्षका लागि उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । प्राज्ञिक तथा शैक्षिक क्षेत्रका साझा मुद्दामा सहकार्य गरेर जाने गरी दुवै पक्षबीच समझदारी भएको प्रतिष्ठान जुम्लाका उपकुलपति डा.रावलले जानकारी दिनुभयो ।

“समझदारी पत्रमा भावी दिनमा संस्थागत समन्वयका लागि दुवै पक्षले सहजीकरण गर्ने विषय प्रविष्ट गरिएको छ,” उपकुलपति डा.रावलले भन्नुभयो, “हामीले दुवै संस्थाको संभावित क्षेत्रको रुपरेखाको विकास र कार्यमा सहकार्य गर्ने उद्देश्य राखेका छौं ।” फ्याकल्टी (संकाय) सदस्यहरुबीच साटासाट हुने अन्डरग्र्याजुएट र ग्र्याजुएट विद्यार्थीबीचको मोविलिटी, विभिन्न प्रकाशन, अनुसन्धान सामग्री तथा समाचारहरु आदानप्रदान गर्ने, अनुसन्धान, शिक्षण तथा संकाय विकाससँग सम्बन्धित कार्यमा संयुक्त कार्य गर्ने गतिविधिको दायरा समझदारी पत्रमा निर्धारण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, दुवै पक्षले डिग्री कार्यक्रम विकास तथा विस्तारका लागि साझेदार संस्थाहरुसँगको सहकार्यमा संयुक्त अभियान थाल्ने, अन्डरग्र्याजुएट र ग्र्याजुएट अध्ययनको पूर्ण डिग्री भुक्तानीको लागि अवसर दिने, प्रशासनिक सहयोग र क्षमता अभिवृद्धिमा सहकार्य गर्नेछन् । मूलतः भौतिक, आर्थिक तथा अन्य दायित्वमा दुवै संस्थाबीच कानूनी प्रतिबन्ध नरहने, समझदारी पत्र पाँच वर्षसम्म लागु गर्ने र आवश्यकतामा दुवै पक्षको सहमतिका आधार त्यसलाई थप गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

जुम्ला प्रतिष्ठान पुग्नुभएका मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलको टोलीका सदस्यहरु मेडिकल एन्थ्रोपोलोजिष्ट प्रोफेसर जिल एलिसन, एमडीजिपी प्रोफेसर डेभिड एलिसनले प्रतिष्ठानको भौतिक संरचना, प्रशासनिक, तथा शैक्षिक क्षेत्रको अध्ययन अवलोकन गर्नुभएको थियो । समझदारी पत्रमा हस्ताक्षर भएपश्चात प्रतिष्ठान–क्यानडा सहकार्यका लागि उक्त कार्यक्रमअन्तरगत अनुसन्धान कार्यक्रममा प्रतिष्ठानका तर्फबाट डा.तुलाकृष्ण गुप्तालाई नियुक्त गरिएको उपकुलपति डा.रावलले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्