OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०७९जुम्ला
३७९ पटक

२४ बैशाख २०७९, शनिबार

साविक मालिकाठाँटा गाविसको वडा नं. ३ र हालको तिला गाउँपालिका ९ जुम्लाको ढिपुगाउँ अहिले पनि पूर्वाधार विकास नभएको र सरकारी हरेक सेवा सुविधाको सहज पहुँच नभएको गाउँ हो । तत्कालीन शासन व्यवस्थाबाट उत्पीडित र उपेक्षित भएर होला, माओवादी सशस्त्र विद्रोह त्यो गाउँका लागि राजनीति चेतना वृद्धिको उत्प्रेरक बन्यो । पछि त्यो गाउँबाट दर्जनौं नागरिकहरु माओवादी युद्धमा पूर्णकालीन भएर लागे ।

युद्धको प्रभाव र चेतना शक्तिको विकास होला, विसं.२०४२ असार १९ गते अतिविकट ढिपु गाउँमा जन्मेकी गोरीकला बुढा (कल्पना) १५ वर्षको किशोर अवस्थामा २०५७ साउन २० गते माओवादीको जनमिलिसियामा जोडिनुभयो । उमेर सानै भएपनि मालेमावादको उच्च विचारधारालाई आत्मसाथ गर्दै उहाँले जनताको मुक्तिका लागि क्रान्तिको बाटो रोज्नुभएको थियो ।

विसं.२०५८ असार १८ गते बुढा माओवादीमा पूर्णकालीन सदस्य भएरै जोडिनुभयो । त्यस्तै, सोही वर्षमा उहाँ स्काउट हुँदै जिल्ला प्लाटुनसम्म जोडिनुभयो । २०५९ जेठ महिनामा भने उहाँको भेरी कर्णाली प्लाटुनमा स्तरोन्नति भयो । बुढाले त्यसपछि छैटौं बटालियनको इन्टेलिजेन्स फोर्समा काम गर्नुभएको थियो ।

युद्ध चरमोत्कर्ष पुग्दै थियो । गण्डक अभियानका बेला उहाँले युद्ध लड्नकै लागि छ महिनाको बच्चा खसाल्नुभयो र बच्चा खसालेको छ दिनमै लडाईमा होमिनुभएको थियो । गण्डक क्षेत्रको लडाईमा दाहिने खुट्टाको साप्रोमा गोली लागेर बुढा घाइते हुनुहुन्छ । युद्ध मृत्युको भूमरी जस्तो भएपनि घाइते उहाँ बाँच्न भने सफल हुनुभयो ।

सेनाकै रुपमा काम गर्नुभएकी बुढा सेना समायोजनका बेला क्यान्टनमेन्टबाट २०६८ सालमा बहिर्गमन हुनुभयो । त्यसपछि हालसम्म माओवादी राजनीतिमा सक्रिय हुँदै आएकी उहाँ आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) तिला गाउँपालिकाबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

अहिलेको व्यवस्था आउनु र उपाध्यक्ष पदमा उम्मेदवारी दिने दिन ल्याउनुमा आफ्नो रगत, पसिना, आँसु, सहिद दाजु जसबहादुर बोहोराको बलिदानी र माओवादी युद्धको ऐतिहासिक उपलब्धि भएको बुढा दावी गर्नुहुन्छ । यो संघीय व्यवस्थामा अभ्यास गरिरहेका हरेक पार्टीले पहिलो माओवादीलाई प्राथमिकता दिएर जिताउनुपर्ने उहाँको धारणा छ ।

विभिन्न आरोह र अवरोह पार गर्दै युद्धको तुफानी रफ्तार र मृत्युसँग आँखा जुधाएर प्राप्त गरेको संघीय व्यवस्थामा तिला गाउँपालिकावासीले आफूलाई बहुमतले विजय गर्ने उहाँको विश्वास छ । र यो व्यवस्थामा आफ्नो संघर्षको मूल्यलाई बुझेर एकपटक जनताको सेवक हुन उपाध्यक्ष पदमा जिताउन सबैमा उहाँले हार्दिक अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्