OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०७९जुम्ला
४८४ पटक

२४ बैशाख २०७९, शनिबार

“राजनीति विशुद्ध समाज सेवा हो, जहाँ मेरो जीवनका चार दशक राजनीतिका माध्यमबाट समाज सेवामै बिते र यो यात्रा निर्वाध अघि बढिरहेको छ,” नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश समिति सदस्य तथा तिला गाउँपालिकाका इञ्चार्ज मोतिलाल रोकाया (परिाभाषित) ले भन्नुभयो, “यो यात्राका क्रममा कम्युनिष्ट भएकाले मैले थुप्रै समस्याको सामना गर्नुपर्यो ।”

राजनीतिलाई समाज सेवाका लागि पुरा गरिने कर्म ठान्ने उहाँ यतिबेला उमेरका हिसाबले ६५ वर्ष पुग्नुभएको छ तथापि जनताको सेवाका निम्ति भने उहाँ यतिबेला नेकपा (माओवादी केन्द्र)को तर्फबाट तिला गाउँपालिकाको अध्यक्षको पदमा उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन अब सात दिन मात्र बाँकी रहँदा अध्यक्ष पदका उम्मेदवार रोकायासहित माओवादी केन्द्र तिला गाउँ समितिको टोली यो समयमा मतदाता भेट्न घरदैलो कार्यक्रममा व्यस्त छ ।

तिला गाउँपालिकाका ९ वटै वडामा चुनावी प्रचारप्रसार कार्यक्रम विस्तार गर्दै लगेको अध्यक्षका उम्मेदवार रोकायले कोरपाटीलाई जानकारी दिनुभयो । “हाम्रो घरदैलो कार्यक्रमले जितलाई सुनिश्चित गरेको छ,” उहाँले भन्नुभयो, “सिंहदरबारको अधिकारलाई गाउँमा ल्याएर अधिकार सम्पन्न बनाउने व्यवस्था माओवादीले ल्याएको भन्दै मतदाताले माओवादी उम्मेदवारप्रति सकरात्मक मत प्रकट गरेका छन् ।”

यसले आफूलाई उत्साहित बनाएको भन्दै ‘बेराजगार युवालाई रोजगार’ बनाउने अनिवार्य शर्त भएकोले आफ्नो जीत सुनिश्चित भएको उहाँले जनाउनुभयो । विकास दिएर रोजागर गर्ने नभई रोजगार दिएर विकास गर्ने नीति अगाडि सारेको बताउनुभएका रोकायाले मतदाताहरुले एक पटक हँसिया हथौडामा छाप लगाई आफूलाई बहुमतले विजय गराएर जनताको सेवक बन्ने मौका दिन हार्दिक अपिल गर्नुभयो ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका तिला गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार गोरीकला बुढा (कल्पना)ले चुनावी माहोल माओवादी पार्टीप्रति राम्रो बन्दै गएको बताउनुभयो । “मेरो उपाध्यक्ष पदको उम्मेदवारी खासगरी महिला अधिकार र सशक्तिकरणका लागि हो,” बुढाले भन्नुभयो, “वर्गीय संघर्ष, यो व्यवस्था ल्याउन आफ्नो जीवन त्याग, समर्पण र बलिदान गर्ने आधार क्षेत्रका जनता मेरो जीतका आधार हुन् ।”

उहाँले अगाडि भन्नुभयो, श्रमजीवि तथा उत्पीडित वर्ग, लिङ्ग, जाति, भाषा, धर्म र क्षेत्रको अधिकार र स्वतन्तत्रताका निम्ति मुक्ति या मृत्यु रोजेर युद्ध होमिएकी म नाफाको जिन्दगी लिएर आज पुनः जनताको सेवा पुग्ने स्थानमा पुग्ने जमर्को गरेकी छु । संघीय व्यवस्था माओवादी युद्धको ऐतिहासिक उपलब्धि र माओवादीकै सवाल भएको जिकिर गर्दै उहाँले उपाध्यक्ष पदमा जिताउन तिला गाउँपालिकावासी मतदातालाई अनुरोध गर्नुभएको छ ।

को हुन् मोतिलाल रोकाय ?

विसं.२०१४ बैशाख ७ गते हालका तिला गाउँपालिका ६ अर्थात् साविक घोडेमहादेव गाविसको पोखरी गाउँमा जन्मनुभएका इञ्चार्ज माेतिलाल रोकायाले करिब २० वर्षको उमेरमा तत्कालीन् नेपाल मजदुर किसान पार्टीबाट राजनीतिक जीवन शुरु गर्नुभएको थियो । विसं.२०३६ सालमा ग्रामीण स्वास्थ्य कार्यकर्ताको जागीर गर्नुभएका उहाँलाई कम्युनिष्ट भएकाले त्यसबीचमा पञ्चायत शासनको ठूलो दमन खेप्नुपर्यो । यद्यपि उक्त शासन व्यवस्थाको दमन सहन नसकेर रोकायाले विसं.२०४६ सालमा ग्रा.स्वा.का पदबाट राजीनामा दिनुभयो ।

विसं.२०४६ को बहुदलीय व्यवस्थापछि नेमकिपाबाट गाविस अध्यक्ष उठ्नुभएका उहाँले ११ मतले आफ्नो प्रतिस्पर्धीबाट हार व्यहोनुपर्यो । पछि विसं.२०५४ सालमा भने नेमकिपा र एमालेको समीकरणबाट अध्यक्षमा विजयी भएको उहाँले कोरपाटीलाई जानकारी दिनुभयो । “मेरो अध्यक्ष कार्यकालमै नेपालमा नेकपा माओवादीको सशस्त्र जनविद्रोहले मालेमावादमा आस्था राख्ने सघायो,” कोरपाटीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “२०५७ सालबाट नेकपा माओवादी विचारधारा अवलम्बन गरे ।”

२०६० असोज ६ गते युद्धरत छोरा जनक रोकायले शाहदत प्राप्त गरेको शोकको दिनलाई शक्तिमा रुपान्तरण गरेर त्यही दिन रोकाया नेकपा माओवादीमा पूर्णकालीन सदस्य भएर लाग्नुभयो । संकटकालीन अवस्थामा उहाँ पार्टीको केन्द्रीय सदस्य पनि बन्नुभयो । पार्टीमा कालीकोटको प्रेम सिंह संयोजक हुँदा जुम्लाका बामपन्थी बुद्धिजीवि नेता रामकृष्ण बुढ्थापाहरुसँगै रहेर काम गरिएको पनि उहाँले बताउनुभयो ।

पार्टी शान्तिपूर्ण राजनीतिमा आएर ०६४ मा संविधानभा जाँदा रोकाया एकीकृत नेकपा माओवादी पार्टीको जिल्ला कमिटि सचिवालय सदस्य हुनुभएकाे थियाे । यो अवधिमा भने रोकाया नेकपा (माओवादी केन्द्र) तिला गाउँपालिकाको इन्चार्ज र प्रदेश समिति सदस्यका रुपमा सक्रिय राजनीतिमा हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्