OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ३, २०७७
५६० पटक

दाना शाही सुर्खेत, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रकोपबाट विश्वमा लाखौंको ज्यान गएको र त्यसबाट प्रेस जगत्समेत अछुतो नरहेको उल्लेख गर्दै महासङ्घ कर्णाली प्रदेश समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।

कर्णाली प्रदेशलगायत मुलुकका सबै पत्रपत्रिका बन्द भएको र रेडियो, केवल टेलिभिजन तथा अनलाईन पनि मुस्किलले सञ्चालनमा आएको व्यहोरा जानकारी गराउँदै महासङ्घले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रियस्तरमा ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका १३ जना पत्रकारको ज्यान गुमाइसकेको र नेपालमा पनि फिल्डमा कामगर्ने पत्रकारहरुलाई कोरोनाको जोखिम बढ्दै जान थालेपछि लिखित पत्रद्वारा सरकारको ध्यानाकर्षण गराएको महासङ्घ कर्णाली प्रदेश समितिका महासचिव दीपेन्द्र शर्माले जानकारी दिनुभयो । “पत्रकारिता आफैमा जोखिम पेशा हो ।

झन् यतिबेला विश्वमै कोरोना भाइरसको डरलाग्दो फैलावट छ,” महासचिव शर्माले भन्नुभयो, “यो विपद्बाट पत्रकारहरुको सुरक्षामा सरकारले आवश्यक प्रबन्ध मिलाओस् भनेर ध्यानाकर्षण गरिएको हो ।” महासचिव शर्माले ‘कोभिड–१९’ कर्णालीका १० जिल्लाका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाईन र त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरुको अवस्थाबारे पनि प्रदेश सरकारलाई जानकारी गराउनुभयो । सरकारसँगै रहेर काम गर्ने र त्यसमा जोखिम मोलेर नागरिकहरुलाई सूचना दिने पत्रकार सञ्चारकर्मीहरुको समस्या सरकारले बेलैमा बुझ्न आग्रह गर्नुभयो ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै कानूनमन्त्री भण्डारीले कोरोना प्रकोपसँग जुध्न पहिलो घेराका स्वास्थ्यकर्मी, दोस्रो घेरामा रहने सुरक्षाकर्मी र तेस्रो घेरामा रहेर कामगर्ने पत्रकार सञ्चारकर्मीहरुको सुरक्षार्थ सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तीनवटै क्षेत्रका कर्मीहरु क्रियाशिलतका साथ यो महामारीको अग्रमोर्चा रहेर काम गर्नुभएको छ । तपाईहरुको जीवन सुरक्षा गर्न सरकार प्रयत्नशील छ ।”

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले यो महामारीमा विज्ञानपनको स्रोत बजार क्षेत्रलगायत सञ्चार गृहहरु बन्द रहँदा आर्थिक संकट आईलागेको र यसको प्रत्यक्ष मारमा फिल्डमा खटिएर कामगर्ने श्रमजीवि पत्रकारहरु नै परिरहेकोले तिनीहरुको सुरक्षा एवं सहयोगका राज्यको अभिभावकत्व आवश्यक रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “यो प्रभावबाट पत्रकारहरुमा बहुआयमिक प्रभाव पर्ने देखिन्छ ।

यो विषम परिस्थितिबाट उनीहरुमा पर्न जाने दूरगामी समस्याको न्यूनिकरण र राहत प्रदान जस्ता कुराको योजना सरकारले बनाओस् ।” महासङ्घको ध्यानाकर्षण पत्रमार्फत बन्दाबन्दीमा पत्रकारसँग प्रेसपास हुँदा पनि प्रशासनले सहज आवतजावत गर्न नदिँदा भएको समस्या, मास्क, सेनिटाइजर, ग्लोबलगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव समाधान गर्न भन्दै यस्तो अवस्थामा सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक, घरभाडा, टेलिफोन, इन्टरनेट, विद्युत महसुललगायतका अन्य खर्चसमेतमा महसुल छुट र सञ्चार गृहको बन्दपछि अप्ठ्यारोमा परेका पत्रकारहरुको राहत तथा अन्य आवश्यकीय व्यवस्थापनका लागि सरकारसँग माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्