

११ बैशाख २०७९, आइतबार
कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा गठबन्धन दलहरुबीच सहमतिको टुङ्गो लागेको छ ।
नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच सहमति भएको हो । बाँकी जिल्लाको भागबण्डा मिलाउन सहमतिको लागि अन्तिम प्रयास भइरहेको छ ।
अध्यक्ष केसीले जुम्ला सहमतिको नजिकमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुकुमपश्चिम, सुर्खेत र कालीकोट जिल्लाको भागबण्डा मिलाउन भने गठबन्धन दलबीच सघन छलफल भइरहेको छ । यसका लागि अब बैठक बस्दैछौं र आजै जसरी पनि टुङ्ग्याउँछौं ।” वडास्तरको भागबण्डा भने गठबन्धन दलका जिल्ला पार्टीले नै मिलाउने उहाँको भनाई थियो ।
नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले मनोनयन दर्ताको समयलाई मध्यनजर गरेर जसरी भएपनि गठबन्धन दलको सहमतिमा गरिने बताउनुभयो । “हामी गठबन्धन दलको केन्द्रको निर्णय अनुसार सहमति गर्नेगरी गहन छलफलमै छौं,” सभापति शाहीले भन्नुभयो, “जे जसो गरेपनि आज नटुङ्ग्याई सुखै छैन । विश्वास छ, हामी सार्थक निर्णयमा पुग्छौं ।”
नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष अमर थापाले पनि गठन्धन दलभित्र सहमति जुटाउन अन्तिम कसरत थालिएको बताउनुभयो । अध्यक्ष थापाका अनुसार आजै मनोनयन दर्ता गरी सहमतिको टुङ्गोमा पुर्याउने प्रयास भइरहेको छ ।