OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ९, २०७९सुर्खेत
२४७ पटक

९ बैशाख २०७९, शुक्रबार

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख देवकुमार सुवेदीले सामाजिक कार्यमा खर्चिने गरी रु.१६ लाखको कोष स्थापनाको घोषणा गर्नुभएको छ ।

नगरप्रमुख सुवेदीले रविजगत फाउण्डेसनअन्तरगत १६ लाख ११ हजारको कोष स्थापना गरिने बताउनुभयो । मूलतः विपन्न तथा गरिब बालबालिका, महिला, र विद्यार्थीहरुको क्षेत्रमा राम्रो कार्य गर्नेहरुको प्रोत्साहन लागि रु.१३ लाख ५० हजारको कोष गरिएको बताउनुभयो । त्यस्तै, रु.एक लाख ११ हजारको युवा उद्यमी कोष, फुटबल संघका निम्ति रु.एक लाखको यज्ञ स्मृति कोष र ५० हजार वृद्धाश्रममा खर्च गर्ने गरी कोषको स्थापना गरिएको उहाँले बताउनुभयो ।

“सामाजिक क्षेत्र, विकाससँग जोडिएको नवप्रवर्तनात्मक क्षेत्र र हरियाली प्रवद्र्धन तथा संरक्षणका लागि महत्वपूर्ण काम गर्ने, युवा पत्रकार तथा अन्य जो सुकै व्यक्तिको प्रोत्साहन तथा पुरस्कारका लागि उक्त रकम खर्च गरिनेछ,” उहाँले भन्नुभयो, “यो मुनाफारहित फाउण्डेसनका लागि सामाजिक सेवा भाव भएका मानिसहरुलाई फाउण्डेसनको सदस्यको लागि आह्वान गर्छु ।”

विसं.२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नगरप्रमुख बन्नुभएका सुवेदीले आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त भएको पारिश्रमिक वापतको रकमबाट विपन्न, गरिव, अपाङ्ग, टुहुरा, महिला, दलित, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका विद्यार्थी एवम् बालबालिकालाई विभिन्न विषय र तहको तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्ने मूल ध्येयले रविजगत फाउण्डेसनको स्थापना गरेका जनाउनुभयो । उहाँका अनुसार समुदायमा रहेका आदिवासी, जनजातिहरुको भाषा, संस्कृति तथा अधिकारको संरक्षण गर्दै दलित, उत्पीडित, सिमान्तकृत वर्ग अपाङ्ग तथा अल्पसङ्ख्यक समुदायका मानिसहरुको हकहितमा रहेर फाउण्डेसनले काम गर्नेछ ।

कृषि तथा पर्यावरणका साथै सामूहिक समुदायिक तथा कबुलियत वन जङ्गल एवं वातावरणको संरक्षण तथा सम्वद्र्धन, जडिबुटी वृक्षारोपण, राष्ट्रिय तथा अन्तराष्ट्रिय कृषि उर्जामा विशेष भूमिका फाउण्डेसनको रहने नगरप्रमुख सुवेदीको भनाई छ । लोपोन्मुख जीवजन्तु, वन्यजन्तु, वनस्पतिहरु, प्रकृतिक सम्पदाहरुको संरक्षण र प्रकृति मैत्री सुरक्षा पहलमा फाउण्डेसनले विशेष जोड दिने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्