OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ८, २०७९सुर्खेत
६०८ पटक

 

८ बैशाख २०७९, बिहीबार

सामाजिक एकता पार्टीका केन्द्रीय अध्यक्ष सिबी गहतराजले जनतालाई सामाजिक न्याय दिलाउन सामाजिक एकता पार्टीको स्थापना भएको बताउनुभएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष गहतराजले सामाजिक एकता पार्टी सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ग र क्षेत्रका लागि साझा फुलबारी भएको बताउनुभयो । “हामी बन्दुक र बारुद भन्दा प्रेम कैयौं गुणा शक्तिशाली हुन्छ भन्नेमा विश्वास गर्दछौं,” उहाँले भन्नुभयो, “हामीले प्रेमपूर्वक शासन सत्ता सञ्चालन गर्ने शासक चाहिरहेका छौं, त्यो एकता पार्टीले दिन्छ ।”

सामाजिक एकता पार्टी प्रेमको साझा मञ्च भएको तर्क गर्दै अध्यक्ष गहतराजले पछिल्लो समयमा सरकारमा रहनेहरुले इसाईहरुको मृत्यु संस्कारमा भएको समस्या समाधान गर्ने भन्दा रातारात इसाईहरु बढेको भन्दै चिन्ता गर्न लागेको टिप्पणी गर्नुभयो । सुन्दर, शान्त र समृद्धि राष्ट्र निर्माणका लागि सामाजिक न्याय कायम गर्ने र समाजमा व्याप्त असमानता, विभेद एवं अन्यायको अन्त्य गर्ने उद्देश्य राखेर एकता पार्टीको जन्म भएको उहाँको भनाई थियो ।

कार्यक्रममा पार्टी उपाध्यक्षहरु रोशन खतिवडा, तुलसीप्रसाद श्रेष्ठ, ख्रीष्टभक्त महर्जन, विदुर अधिकारी, महिला उपाध्यक्ष अष्टकुमारी लामा, सहमहासचिव एवं प्रवक्ता मुरारी पाण्डे, उपमहासचिवहरु सिलास दिनदयाल, धनुषा घले, अशोक लामा तथा केन्द्रीय सचिव मनोज सुवेदी, सहसचिव मनप्रसाद जैसी, केन्द्रीय सदस्य रमिता श्रेष्ठले सामाजिक एकता पार्टी दबिएका, थिचिएको र उत्पीडनमा परेको जाति, वर्ग र क्षेत्रको आवाज बनेर सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणको यात्रामा एकता पार्टी लागेको बताउनुभयो ।

भेलामा इसाई समाज सुर्खेतका अध्यक्ष पदम गैरेले उक्त पार्टी विकास तथा विस्तारकाे शुभकामना व्यक्त गर्नुभयाे । उहाँले सामाजिक पार्टीले धर्म र जातका आधारमा राजनीति नगर्ने भन्दै उत्पीडित उपेक्षित अल्पसंख्यक र सीमान्तकृतहरु सबैका लागि अभिभावक बनेर काम गर्ने विश्वास दिलाउनुभयाे ।

सामाजिक एकता पार्टी कर्णाली प्रदेश अध्यक्षमा राना

सामाजिक एकता पार्टी कर्णाली प्रदेश समिति अध्यक्षमा सुर्खेतका पदमबहादुर राना चयन हुनुभएको छ । रानाको अध्यक्षमा २३ सदस्यीय प्रदेश समिति गठन भएको हो ।


प्रदेश समितिको बरिष्ठ उपाध्यक्षमा हुम्लाका प्रवचन उपाध्याय, कालीकोटका होमबहादुर सिंह, महिला उपाध्यक्षमा सुर्खेत माया गुरुङ चयन हुनुभएको छ । त्यस्तै, सचिवमा सुर्खेतका दलबहादुर नेपाली, सहसचिवमा रेजिना विक, कोषाध्यक्षमा सुर्खेतकै कृष्णबहादुर नेपाली र सहकोषाध्यक्षमा धनकुमारी बस्नेत चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा दत्तबहादुर महतारा, टेकबहादुर मिजार, सीता विक, युवराज नेपाली, हरिबहादुर बादी, आशीष नेपाली, प्रमिला विक, जिरा सेजुवाल, भरत राना, लालबहादुर नेपाली, दिपक विश्वकर्मा, गोपाल नेपाली र रामबहादुर विक चयन भएको सामाजिक एकता पार्टी कर्णाली प्रदेश सचिव दलबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँका दश जिल्लाका अध्यक्षहरु प्रदेश समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्