OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २९, २०७८काठमाडौं
४७३ पटक
twitter sharing button

 

messenger sharing button

२९ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ ।

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गरेको छ र तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका ७ आधार तय गरिएको छ ।

जसमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको प्रमुख शक्तिका रुपमा स्वीकार गरिएको छ । साथै २०७४ को स्थानीय तहको जनमत, अरु दल विजयी भएको स्थानमा सत्तारुढ दलका उम्मेदवारले पाएको मत, वर्तमान संगठनात्मक अवस्थालाई आधार मानिएको छ ।

  • २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीका उम्मेदवारहरुलाई मान्ने ।
  • २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।
  • २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी ।
  • २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत
  • एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।
  • सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
  • गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।

उपमहानगर र महानगरबारे केन्द्रको निर्णय

सत्तारुढ पाँच दलले वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिएका छन् ।

नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखकमा तालमेल तथा बाँडफाँटबारे जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले ५ गते केन्द्रमा पठाउने निर्णय छ । महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको सिट बाँडफाँड केन्द्रीय संयन्त्रले गर्ने निर्णय भएको छ ।

 

प्रतिकृया दिनुहोस्