OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २७, २०७८जुम्ला
११७७ पटक

२७ चैत २०७८, आइतबार

नेकपा एमालेका पूर्व गाविस अध्यक्ष दिपबहादुर शाही आइतबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । शाही विसं.२०५४ सालमा नेकपा एमालेबाट साविक कुडारी गाविस जुम्लाको अध्यक्षमा विजयी हुनुभएको थियो ।

पूर्व अध्यक्ष शाहीलाई आज नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत (कार्मा)ले माओवादी केन्द्रको तिला गाउँपालिकाको पार्टी कार्यालयमा प्रवेश गराउनुभएको हो । नेकपा (माओवादी केन्द्र) जुम्लाको इञ्चार्जसमेत रहनुभएका उहाँले पार्टी प्रवेश कार्यक्रममा शाहीलाई टिका र खादा लगाएर स्वागत गर्नुभयो । इञ्चार्ज महतले पाको राजनीतिक व्यक्तित्वको प्रवेशले पार्टी र आफूले असल अभिभावक पाएको बताउनुभयो ।

उहाँले पालिकाको पार्टीले सिफारिस गरेको जनाउँदै नवप्रवेशी शाहीलाई उच्च सम्मान गरिने जनाउनुभयो । पूर्व अध्यक्ष शाही माओवादीमा प्रवेश परेपछि भने नेकपा एमालेको पकड भनिएको साविकको कुडारी गाविसको वडा नम्बर ४ जुम्ला साँपुल्ली गाउँमा एमालेको गढ भत्केको छ । लामो समयको छलफल तथा संवादपछि शाही माओवादीमा प्रवेश गरेको उक्त गाउँपालिकाका इञ्चार्ज मोतिलाल रोकायले जानकारी दिनुभयो ।

करिब ३४ वर्ष लामो समय नेकपा एमालेमा रहेर राजनीतिक जीवन ब्यतित गर्नुभएका शाहीले पछिल्लो समयमा उक्त पार्टीभित्र तानाशाही प्रवृति, स्वेच्छाचारिता, परिवारवादी तथा आफन्तवादी संस्कृति मौलाउँदै गएको भन्दै आजको अभ्यास भइरहेको व्यवस्था ल्याउन संघर्ष गरेको पार्टी नेकपा माओवादी केन्द्र रोजेको बताउनुभयो । म आफू कम्युनिष्ट भएकोले त्यही बिरासत बोकेको पार्टीमा संगठित भएको र अबको राजनीतिक जीवन त्यसैमा सक्रिय भएर बिताउँने उहाँको भनाई थियो ।

“माओवादी केन्द्रको त्याग, तपस्या र बलिदानबाट केन्द्रीकृत राज्य व्यवस्थाको ढाँचा बदलिएर आज गाउँमा सिंहदरबारको अधिकार आइपुगेको छ,” उहाँले भन्नुभयो, “जहाँ नागरिकहरुले स्वच्छ अभ्यास गरेर स्वायत्त सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् ।” यद्यपि यो व्यवस्थाको अभ्यास संविधानको मर्म बमोजिम हुन नसकेकोले अब स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिहरुले जनहितमा केन्द्रित रहेर जनमुखी योजनालाई अघि सार्नुपर्ने उहाँले सुझाव दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्