२० चैत २०७८ आइतबार
पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास प्रस्तावमा मतदान हुनेछ ।
सत्ता गठबन्धनका दल नै प्रधानमन्त्री खानको विपक्षमा उभिएपछि उनी संकटमा परेका छन् । अल्पमतमा परे पनि उनले राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताएका छन् । अहिलेसम्म खानको पक्षमा १४२ र विपक्षमा १९९ सांसद देखिएकाले गणितीय हिसाबमा उनी पदमुक्त हुने निश्चित रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सन् २०१८ को अगष्टदेखि सम्हालिरहेका छन् । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।
प्रधानमन्त्री खानले आफूविरुद्ध अमेरिकाले षडयन्त्र गरेको आरोप लगाएका छन् । पाकिस्तानी सेना भने आफ्नो पक्षमा रहेको खानले बताएका छन् । उनले भनेका छन्, ‘अविश्वास प्रस्ताव पास भयो भने अमेरिकाको जित हुनेछ ।’
उनले आफू कहिले पनि भारतविरुद्ध नभएको बताए । ‘म एन्टी अमेरिकी भएँ तर एन्टी इण्डिया रहिनँ,’ उनले भनेका छन्, ‘हामी सबैसँग मित्रता चाहान्छौं । आज पाकिस्तानमा ठूलो परिवर्तन आएको छ । २५ वर्षअघिसम्म मैले यस्तो परिवर्तन देखेको थिइनँ । अमेरिकाविरुद्ध पूरै जनता छन् ।’ अनलाइन खबरबाट