OnlinePana

आज : २०८३ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १९, २०७८
१०६१ पटक

१९ चैत २०७८, शनिबार

सुर्खेतमा नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्ष मुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यहाँका ९६ हजार ४६७ बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने बताइएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशभक्त गौतमका अनुसार देशैभरि एक चरणमा यही चैत्र २५ गतेदेखि बैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मिति अनुसार खोप लगाइनेछ ।

उहाँले सुर्खेतका सिम्ता गाउँपालिकाका सात हजार ८४१, चिडगाड गाउँपालिकाका पाँच हजार ९१५, लेकबेसी नगरपालिकामा आठ हजार ३९७, गुर्भाकोट गाउँपालिकामा १२ हजार ९९७, भेरीगंगा नगरपालिकामा ११ हजार ८१९, वीरेन्द्रनगर नगरपालिकामा २२ हजार २३९, बराहताल गाउँपालिकामा सात हजार ८३५, पञ्चपुरी नगरपालिकामा १० हजार ६२६ र चौकुने गाउँपालिकामा आठ हजार ७९८ जना बालबालिकालाई खोप लगाइने जनाउनुभयो ।

कार्यालय प्रमुख गौतमका अनुसार सुर्खेतमा एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने अनुमान गरिएको छ । “खोप अभियानमा लक्षित समुह मुख्यरुपमा ८० प्रतिशत विद्यालय नै रहनेछ,” उहाँले भन्नुभयो, “हामी सुर्खेतमा पहिलो, दोस्रो र तेस्रो चरण गरे बालबालिकालाई खोप लगाउने छौं ।”

नेपालमा १५ वर्ष मुनिका बालबालिकामा संक्रमण दर ११ गुणा बढी रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी अमर राना मगरले बताउनुभयो । बालबालिकामा सरसफाई र स्वच्छताको कमी हुने भएकोले टाइफाइड रोगबाट बालबालिकामा संक्रमण दर बढी भेटिने गरेको उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्