OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १४, २०७८सुर्खेत
५३५ पटक

१४ चैत २०७८, सोमबार

ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्र काक्रेबिहारको संरक्षणका लागि रु.छ लाखको अस्थायी प्रहरी विट निर्माण गरिएको छ ।

कर्णाली प्रदेशको राजधानी शहरमा अवस्थित वीरेन्द्रनगर नगरपालिकाको ९ सुर्खेतको वडा कार्यालयले रु.छ लाख ५० हजारमा अस्थायी प्रहरी विटको भवन निर्माण गरेको हो । सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र मानिने काक्रेबिहारस्थित बनेको उक्त भवनको उद्घाटन नगरप्रमुख देवकुमार सुवेदी उपप्रमुख मोहनमाया ढकाल र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

विसं.२०७६ भाद्र २५ गतेबाट सञ्चालनमा रहेको अस्थायी प्रहरी विटले आजबाट आफ्नै पक्की भवनबाट कार्य सञ्चालन गरेको छ । नवनिर्मित भवन उद्घाटनमा बोल्दै नगरप्रमुख सुवेदी देशकै महत्वको ऐतिहासिक क्षेत्र काँक्रेविहार संरक्षणमा प्रहरीसहित स्थानीय समुदायको पनि सहयोग आवश्यक हुने बताउनुभयो । आर्थिक विकासका हिसाबको आधारशीला मानिने काक्रेबिहार सबैको साझा सम्पति भएको उहाँको भनाई थियो ।

त्यस्तै, उपप्रमुख मोहनमाया ढकालले बढ्दो जनसंख्यासँगै राज्यसँग सुरक्षा चुनौती भएकोले जनतासँग प्रहरी छ भन्ने अनुभुति दिएर काम गर्न प्रहरीले सुझाउनुभयो । ९ नम्बर वडाअध्यक्ष सुरेश मानन्धरले वडामा काँक्रेविहारको मुल गेटसँगै प्रहरी विटको भवन निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो “यो प्रहरी विटले ९ नम्बर मात्र नभएर २ र १० नम्बर वडाको पनि केही क्षेत्र हेरिरहेको छ । यस क्षेत्रमा लागुऔधष नियन्त्रण गर्न प्रहरी र जनता उतिकै लाग्नुपर्छ ।“

उक्त कार्यक्रममा स्थानीय समाजसेवी डम्मरविक्रम जिसी, गणेश वली, कर्णाली प्रदेश सरकारका पूर्वमुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धर वडा सदस्यद्वय जीवनकुमार शर्मा, टिका विक र राधा विक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्