OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १३, २०७८
५६४ पटक

१३ चैत २०७८, सोमबार

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले मुलुकको राष्ट्रप्रमुखको हैसियतमा महिलालाई पुर्याउने व्यवस्था माओवादीले ल्याएको बताउनुएको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा आइतबार आयोजित ‘समाजवादोन्मुख समृद्धिका लागि स्थानीय सरकार निर्माणमा प्राध्यापक, शिक्षक, कर्मचारी र बुद्धिजीविहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले समाजमा हेपिएको, दमन, शोषणमा परेको जाति, लिङ्ग, वर्ग र क्षेत्रलाई माओवादीको १० वर्षको सशस्त्र युद्धले राज्यको बागडोर सम्हाल्ने बनाएको दावी गर्नुभयो ।

“हिँजो एकल महिलाले समाजमा सजिलै जिउन सक्ने अवस्था थिएन तर आज ती महिला यो देशकै सबैभन्दा माथिल्लो पदमा रहेर राष्ट्रप्रमुखको भूमिका निर्वाह गरिरहेका छन्,” अध्यक्ष केसीले भन्नुभयो, “यो व्यवस्था ल्याउन कसले अगुवाई ग¥यो ? माओवादी पार्टीले होइन ? पितृसत्ता ढाल्नेदेखि जातिय, सामाजिक र लैङ्गिक विभेद अन्त्य गरी सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने भूमिका माओवादीले खेलेको होइन र ?”

अहिलेको युगमा हामीलाई अभिव्यक्ति स्वतन्त्रता दिलाउनेदेखि महिलाहरुलाई ३३ प्रतिशत अधिकारको सुनिश्चितता, दलित, आदिवासी जनजाति, उत्पीडित, सीमान्तकृत र अल्पसंख्यकहरुलाई राज्यको मूलप्रवाह ल्याउन माओवादी उनीहरुको आधार र आवाज दुवै बनेको उहाँले दावी गर्नुभयो । समानुपातिक समावेशी सिद्धान्त र नीतिले आज राज्यका हरेक नीतिगत तह तथा निर्णायक भूमिकामा महिला, दलित, जनजाति, उत्पीडित सबैको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना हुनु माओवादी युद्धको उपलब्धि र सफलता दुवै भएको अध्यक्ष केसीले जिकिर गर्नुभयो ।

मुलुकमा संविधान बनाउने, धर्मनिरपेक्षता, संघीयता, समावेशिता, समानुपातिक सहभागिताको सिद्धान्तलाई अगाडि सार्ने एकमात्र जनताको पार्टी माओवादी भएको उल्लेख गर्दै उहाँले कर्णालीमा नेकपा माओवादी अहिलेको स्थानीय चुनावमा पहिलो बन्ने शंखघोष गर्नुभयो । उहाँले पछिल्लो समयमा पार्टीभित्रका केही विकार तत्व निकास भएर गएको तर्क गर्दै यसले पार्टीलाई गुणत्व बढाउन सहयोग पुगेको बताउनुभयो ।

पूर्व कषिमन्त्री समेत रहनुभएका उहाँले पद पाइन भनेर अर्को पार्टीमा जानेहरुको कही कतै अस्तित्व नहुने प्रष्ट्याउनुभयो । स्थानीय चुनावको अब डेढ महिना बाँकी रहेकोले जित सुनिश्चितताका लागि गाउँ पस्न र आफ्नो क्षेत्रगत भूमिकालाई प्रभावकारी बनाएर लैजान सबै सर्कलका बुद्धिजीविहरुलाई उहाँले निर्देशन दिनुभयाे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश समिति सचिव धनजीत शाहीले माओवादी क्रान्तिबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नु अहिलेकाे मुख्य अभिभारा भएकाे बताउनुभयाे । याे व्यवस्था परिवर्तनमा माओवादीकाे त्याग तपस्या र बलिदान गरेकाे नरुचाउने शक्तिहरुले छरिरहेकाे भ्रम चिर्न बुद्धिजीविहरुकाे प्रमुख भूमिका हुने उहाँकाे भनाई थियाे । अन्तरक्रिया कार्यक्रममा प्राध्यापक, शिक्षक, विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी र बुद्धिजीविहरुहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्