OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १०, २०७८सुर्खेत
५१८ पटक

९ फागुन २०७८ मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले जगदुल्ला जलविद्युत आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न थालिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको प्रगतिबारे आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री शाहीले आयोजनाबारे जानकारी लिदै जगदुल्ला जलविद्युत आयोजना कर्णालीको विकास र समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभयो ।

जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रदेश सरकार अधिकतम रुपमा लगानी गर्ने सोचमा रहेको भन्दै प्रदेश गौरवको आयोजना बनाई त्यसमा बढी भन्दा बढी शेयर लगानी गर्न प्रदेश सरकार तयार भएको बताउनुभयो । उहाँले ५ प्रतिशत मात्र प्रदेश सरकारले लगानी गर्न पाउने भन्ने कार्यविधिसमेत सच्याउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाही, उर्जा विकासमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटा बीचमा भएको छलफलमा जगदुल्ला जलविद्युत आयोजनाको प्रगति विवरण पेश गरिएको थियो ।

छलफल कार्यक्रममा निमित्त कार्यकारी प्रमुख सापकोटाले आयोजनाको ट्रस्ट एडिट टनेलको काम शतप्रतिशत सम्पन्न भएको बताउनुभयो । आयोजनाको विद्युत उत्पादन गृह इलमा थप भौगर्भिक अध्ययन कार्य भईरहेको बताउँदै उहाँले आयोजनाको काम निर्माण चरणमा अगाडि बढेको बताउनुभयो । कुल ४०० मिटर लम्बाई रहेको नुमना परीक्षण सुरुङमा ४०० मिटर खन्ने काम सम्पन्न भएकोे उहाँको भनाई थियो ।

जाजरकोट–डोल्पा (भेरी करिडोर) अन्तरगत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका १ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाइ छ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको उहाँले जनाउनुभयो । उहाँका अनुसार आयोजना निर्माण स्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम समेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि रु.२० अर्ब लाग्ने अनुमान गरिएको छ ।

“आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिनाभित्र पेश गरी चैत महिना भित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको छ,” उहाँले भन्नुभयो, “विद्युत उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुईवटा भवन निर्माण र विद्युत खरिद बिक्री तथा सम्झौताको कामसमेत भएको छ ।” वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तिय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना स्थलसम्म जान र आउनका लागि इल, नील दहमा पुल आयोजना आफँैले निर्माण गर्ने भएको छ । जाजरकोट–डोल्पा सडक खण्डको त्रिवणीबाट–इल सम्माको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आवह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिएपनि ठेकेदारको ढिलासुस्तीले बल्ल काम सुरु भएको जनाइएको छ ।

वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाइ आगामी आव.देखि निर्माण कार्य सुरु गर्ने आयोजनाको दावी छ । अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनौटको बोलपत्र सम्बन्धी कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्