OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २७, २०७८सुर्खेत
५९६ पटक

 

२७ माघ २०७८, बिहीबार

मध्यपश्चिम विश्वविद्यालय, नेपाल र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज, मलेसियाबीच सम्झौता भएको छ । शैक्षिक सहकार्यका लागि दुवै विश्वविद्यालयबीच अनलाइन माध्यमबाट बुधबार दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका तर्फबाट समकक्षी अध्यक्ष प्रा.डा. ली.जी वेइद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौताको क्रममा मप विश्वविद्यालयका उपकुलपति प्राडा. सिंहले सम्झौता पश्चात दुवै शैक्षिक संस्थाको शैक्षिक विकास हुनुका साथै दुई विश्वविद्यालयबीच आपसी समझदारीलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो ।

शैक्षिक संस्थाहरुले बौद्धिक क्रान्तिमार्फत अहिलेको विश्व समुदायको हितमा हुने कार्यमा लाग्नुपर्ने उहाँले जोड दिनुभयो । रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष प्राडा. वेइले सम्झौतापश्चात विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्णसाथ समर्थन रहने कुरा व्यक्त गर्नुभएको थियो ।

दुवै विश्वविद्यालयले समानता र पारस्परिकताको आधारमा पारस्परिक हितका लागि विभिन्न सहयोगी गतिविधिहरु सञ्चालन गर्न सहमत भएको मप विश्वविद्यालयका सूचना प्रविधि विज्ञ एवं उपप्रध्यापक पञ्चदेव भट्टले जानकारी दिनुभयो । सम्झौता अनुसार विद्यार्थीहरुका लागि विभिन्न सहयोगी सिकाइका गतिविधिहरू सञ्चालन गर्ने; विद्यार्थी र प्राध्यापक तथा कर्मचारीबीच आदानप्रदान गर्ने; संयुक्त सम्मेलन, सेमिनार तथा गोष्ठीहरु सञ्चालन गर्ने विज्ञ भट्टले बताउनुभयो ।

उहाँका अनुसार संयुक्त अनुसन्धान, प्रकाशन, परामर्श गर्ने; विशिष्ट प्रयोगशाला उपकरण, शिक्षण सामग्री, विशेषज्ञतामा पहुँच पु¥याउने र छोटो शैक्षिक भ्रमणहरु गर्ने गराउने यो सम्झौताको उद्देश्य रहेको छ । सम्झौता अवधि ५ वर्षको रहेको छ भने दुवै विश्वविद्यालयहरुको आपसी समझदारीमा अवधि थप गर्न सकिने कुरा पत्रमा उल्लेख गरिएको छ ।

नेपाल सरकारद्वारा वि.स. २०६७ असार ३ गते स्थापना मप विश्वविद्यालयअन्तरगत देशभरि गरी सात ग्रेजुएट स्कूल, दश आंगिक क्याम्पस, दुई स्कूल र एक सम्बन्धन प्राप्त कलेज रहेका छन् । विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ्, मानविकी तथा समाजशास्त्र, कानून, व्यवस्थापन, विज्ञान तथा प्रविधिलगायतका विभिन्न विषयमा पीएचडी तथा एमफिल, स्नातकोत्तर र स्नातक कार्यक्रमहरूमा करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् ।

मलेसियाका प्रथम प्रधानमन्त्री तुङ्कु अब्दुल रहमानको नामबाट सन् १९६९ मा स्थापित उक्त कलेज सन् २०१३ मा यूनिभर्सिटी कलेजमा स्तरोन्नति भएको थियो । यसका देशैभर छवटा आंगिक क्याम्पस र मलेसियाको राजधानी क्वालालम्पुरमा मुख्यम क्याम्पस रहेको छ । विश्वविद्यालयमा विभिन्न विषयहरु जस्तै लेखा, वित्त र व्यापार, व्यावहारिक विज्ञान, कम्प्युटिङ र सूचना प्रविधि, वातावरण, इन्जिनियरिङ्, प्रविधि, सामाजिक विज्ञान, मानविकी आदि कार्यक्रमअन्तरगत पीएचडी, एमफिल, स्नातकोत्तर, स्नातक र डिप्लोमा तहमा करीब २८ हजार विद्यार्थी अध्ययन गर्दै आएको जनाईएको छ ।

मलेसियाको इतिहासमा सबैभन्दा ठुलो र पुरानो, उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु अन्तरगत रहेको छ भने २०२२ को अन्ततिर पूर्ण विश्वविद्यालयको रुपमा रुपान्तरण हुने कुरा अध्यक्ष प्राडा. वेइले उल्लेख गर्नुभएको थियो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा. नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा रहमान यूनिभर्सिटी कलेजका उपाध्यक्ष सह–प्रा.से सोक क्वानलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्