OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३, २०७८सुर्खेत
४७९ पटक

३ माघ २०७८, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ओमिक्रोनको असर न्यूनीकरणका लागि स्वास्थ्य संस्थाको सवलीकरणमा विशेष जोड दिइएको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार भेटघाटमार्फत मुख्यमन्त्री शाहीले प्रदेश कोभिड व्यवस्थापन केन्द्र (पिसिएमसी) को बैठकबाट स्वास्थ्य संस्थाहरुको सवलीकरण, अक्सिजन प्लान्टहरुको सञ्चालन तथा स्वास्थ्यकर्मीहरुको परिचालनको प्रबन्ध मिलाइएको बताउनुभयो । उहाँले एम्बुलेन्स खरिदको लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, जाजरकोट र सल्यानका लागि रु.२० लाखका दरले रु.८० लाख बजेट पठाइएको जनाउनुभयो ।

त्यस्तै, सुर्खेत पञ्चपुरी नगरपालिकाको कोभिड–१९ व्यवस्थापकीय खर्चका लागि रु.१० लाख, प्रदेश अस्पतालको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदका लागि रु.३८ लाख र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आवश्यक मेसिनरी औजार खरिदका लागि रु.दुई करोड बजेट पठाइएको बताउनुभयो ।

त्यसैगरी, कर्णाली प्रदेशबाट स्थापना भई स्थानीय तहमा सञ्चालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य एकाईहरुको लागि प्रति एकाई रु.पाँच लाखका दरले रु.तीन करोड ३० लाख सम्बन्धित स्थानीय तहहरुमा बजेट पठाई सामुदायिक स्वास्थ्य एकाईहरुको सेवा निरन्तर गरिएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

कोरोनाको पहिलो र दोस्रो लहरमा कर्णाली प्रदेशले भोग्नुपरेको अभावको गहिरो समीक्षा गरिएको बताउँदै उहाँले सो अभाव पूर्ति गर्न यो अवधिमा कर्णाली प्रदेश अस्पताल, जिल्ला अस्पताल दैलेख, कालीकोट र रुकुमपश्चिम, वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारी एवं चौधरी फाउण्डेसनको सहयोगमा वीरेन्द्रनगर अस्पताल र युएनडिपीको साझेदारीमा गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा एक÷एक गरी आठ जिल्लामा (१०० देखि ५०० एलपिएम) क्षमताका अक्सिजन प्लान्ट स्थापना गरेको जनाउनुभयो ।

प्रदेश सरकारका अनुसार कोरोनाको संभावित तेस्रो लहर रोक्नका लागि कर्णाली भित्रिने मुख्य तीन नाकाहरु मध्य सुर्खेतको कुइनेमा अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसियसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटीको सहयोग तथा विङ्स फाउण्डेसनको समन्वयमा भदौ १ गतेदेखि नै कोरोना परीक्षण तथा सुर्खेतको जामुमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याइएको छ ।

प्रदेशको मुख्य प्रवेशद्वार बबई भएर भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट कर्णाली प्रदेश आउने नागरिकहलाई भेरीगंगा नगरपालिका १२ स्थित सरुवा रोग अस्पताल निर्माण स्थलमा होल्डिङ सेन्टर निर्माण र गुर्भाकोट, पञ्चपुरी तथा सल्यानको कपुरकोटमा बिगतमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन तयारी थालिएको प्रदेश सरकारले जनाएको छ ।

त्यसैगरी, प्रदेश सरकारले कूल जनसंख्याको पहिलो मात्रा ४५.५ प्रतिशत र पूर्ण मात्रा ३३.६ प्रतिशत कर्णालीमा खोप कभरेज दर रहेको बताएको छ । यसमा लक्षित समुहतर्फ १२ देखि १७ वर्षसम्मको पहिलो मात्रा ७८.६ प्रतिशत १८ वर्षमाथि पहिलो मात्रा ५५.७ प्रतिशत र पूर्ण मात्रा ५१.३ प्रतिशत खोपको कभरेज रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्