OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १७, २०७८सुर्खेत
६३९ पटक

१७ पुस २०७८, शनिबार

नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले कर्णालीबाट सम्प्रेषित समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताउनुभएको छ ।

तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारहरुका लागि आचारसंहिता तालिम’को भर्चुअल कार्यक्रममा बोल्दै सचिव डा.अर्यालले कर्णालीको समस्याको सत्य र तथ्य समाचारले सरकारलाई सरकारले नीति निर्माण सहयोग पुग्ने बताउनुभयो । “विकास पूर्वाधारमा कर्णाली पछि नै छ,” उहाँले भन्नुभयो, “त्यहाँको सटिक समाचार आउनुपर्छ ।”

विचार आस्थाका आधारमा लेखिने समाचारले भ्रम पर्न जाने भन्दै सचिव डा.अर्यालले व्यक्तिलाई प्रताडना हुने समाचार लेखनमा पत्रकारहरुलाई संवेदनशील हुन सुझाउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष डा.सुरेश आचार्यले आचारसंहिता उलङ्घन गरेका कारण नभई कानून उलङ्घनका पत्रकार र सञ्चार गृह कारवाहीमा परेको जिकिर गर्नुभयो ।

“आचारसंहिता जिम्मेवार हुने प्रयोजनको आपसी समझदारी हो । हामी यो मापदण्डभित्र रहेर काम गर्छौं भन्या हो । व्यवसायिक संगठनहरुको आचारसंहिता हुन्छ,” डा.आचार्यले भन्नुभयो, “तर प्रेस काउन्सिलको संरचनामा म सहमति छैन । यसले पत्रकार आचारसंहिता निर्माण गर्ने नभई उनीहरुको कामको अनुगमन तथा कार्यान्वयन गर्ने हो ।”

तालिमको क्रममा प्रधानमन्त्री, सञ्चारमन्त्री, मन्त्रीहरु र आफूलाई लागेको मान्छेको समाचार सरकारी मिडियाले लेख्ने संस्कृति रहेको टिप्पणी गर्दै उहाँले विपक्षीको समाचारमा त्यति प्राथमिकता नदिने गरेको जनाउनुभयो । काउन्सिलमा पार्टीका व्यक्तिहरु नियुक्त हुने अभ्यासले स्वच्छता नदेखिने भन्दै प्रकाशक, सम्पादक, विश्वविद्यालयका प्राध्यापकहरुको प्रतिनिधि, काउन्सिल र महासंघको अध्यक्ष पदेन सदस्य रहने छुट्टै आयोगको आवश्यक रहेको डा.आचार्यले औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र कसरी गर्ने भन्नेमा चुनौति बढ्दै गएको बताउनुभएको थियो । कर्णालीमा पत्रकारहरुले दुःख गरेर पत्रकारिता गरेको जनाउँदै उहाँले आचारसंहिता पालनामा कहीँ न कही कमजोरी भएको र पछिल्लो समयको पत्रकारिता राजनीतिबाट प्रभावित भएको जनाउनुभयो ।

मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलले पत्रकार आचारसंहिता २०७३ बारे सूचना गर्दै आएको र अहिले त्यसको परिमार्जन भएको बताउनुभयो । उहाँले आचारसंहिताको दफा ४ मा प्रेस स्वतन्त्रता, लोकतन्त्रको संरक्षणका लागि पेशागत मान्यता, व्यवहारमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्न सुझाउनुभयो । मुख्य अधिकृत भुसालले काउन्सिलको क्षमता र स्रोत साधनले भ्याएसम्म दुर्गमका पत्रकाहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, राससका बरिष्ठ समाचारदाता प्रकाश सिलवालले रिपोटिङको क्रममा कसरी आचारसंहिता पालना र प्रयोग गर्ने विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । पत्रकारले समाचारमा स्रोतको सहि पहिचान, पूर्व अध्ययन गरी गोपनीयताको हकलाई संरक्षण गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार लेख्न प्रशिक्षक सिलवालले सुझाव दिनुभयो ।

सामाजिक सञ्जालको गलत प्रयोगले मिडिया क्षेत्रमा परेको प्रभावका विषयमा मिडिया लिटरेसी आवश्यक रहेकोप्रति जोड दिँदै उहाँले पत्रकार आचारसंहिताको अनुगमन तथा नियमनका लागि स्वतन्त्र, स्वायत्त मिडिया आयोगको अपरिहार्यता खट्केको औंल्याउनुभयो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सहयोगमा सञ्चालित उक्त कार्यक्रमको संयोजन फाउण्डेसनका संयोजक डिल्लीरमण सुवेदीले गर्नुभएको थियो । भर्चुअल तालिममा कर्णालीका दशवटै जिल्लाबाट प्रतिनिधिमूलक पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्