OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ९, २०७८सुर्खेत
८२० पटक

९ पुस २०७८, शुक्रबार

देब्रेतर्फको काँधदेखि खुट्टासम्म प्यारालाइसिस हुँदा शरीर थाम्न गाह्रो छ, चेतन सिग्देललाई । शरीर थाम्न सहयोग गर्ने परिवारले नै अपमान गर्न थालेपछि सिग्देलको पीडाले सीमा नाघ्न थालेको छ, अचेल । हिँजो युद्धताका कैंयन अप्ठ्यारो मोडमा शरीर थामेर जीवन बचाएका सहयोद्धाहरुले आजकाल चिन्न छोड्दा चेतनमा खिन्नता बढ्दै गएको छ ।

पञ्चपुरी नगरपालिका ८ तुलालथाई सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर १० सुर्खेतमा बस्दै आउनुभएका चेतन पार्टीले घाइते अपाङ्गहरुप्रति गरेको व्यवहारले पनि अलि दिक्क हुनुहुन्छ । शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवार, घाइते अपाङ्गता भएका व्यक्तिहरुले के गरिरहेका छन्, भन्ने सोधीखोजी पछिल्लो समयमा नगरेको उहाँले गुनासो पोख्नभयो ।

“नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी निर्वाचित भएर आएलगत्तै लामो समयपछि हाम्रो समस्याबारे बुझ्न खोजिँदा भने निकै खुशी लागेर आएको छ,” सिग्देलले भन्नुभयो, “पार्टीले हाम्रो योगदानलाई बुझेर अब व्यवस्थापन गर्दैछ कि भन्ने ठूलो आशासमेत पलाएको छ ।” उहाँले समानुपातिक, समावेशी, संघीय राज्य व्यवस्था आउनुमा आफूहरुको हिँजोको रगत, पसिना र आजको पीडा र आँसु मिसिएको दावी गर्नुभयो ।

विसं.२०५९ साल फागुन महिनामा १६ वर्षको कलिलो उमेरमा भूमिगत हुनुभएका चेतनले शुरुमा कलाकार क्षेत्रमा जोडिएको र त्यसपछि वाईसियल सुर्खेतको जिल्ला सदस्य हुँदै जनमिलिसियाको कमाण्डर र तत्पश्चात् सेनामा काम गरेको बिगत् सुनाउनुभयो । उहाँले सेनामा जोडिएपछि विसं.२०६२ सालभरि रुकुमको पिपल, स्याञ्जाको मनकामना, पाल्पाको तानसेन, नवपरासीको सुनवल र कपिलवस्तुको तौलिहवा गरी पाँच ठाउँको युद्ध लड्नुभयो ।

अन्तिमको युद्ध भने विसं.२०६२ फागुन २५ गते कपिलवस्तुको सदरमुकाम तौलिहवाको थियो जुन युद्धमा सिग्देलको शरीरको दायाँ भागमा गोली लाग्यो । उक्त गोलीबाट सख्त घाइते भएका उहाँको दायाँतर्फको भाग प्यारालाइसिस भयो । त्यहाँबाट गोली निकालेको केही समयपछि मस्तिष्कमा रगत जम्यो र बायाँतर्फको सिंगो शरीर प्यारालाइसिस हुँदा १४ वर्षदेखि उहाँको आधा शरीर मृत अवस्थामा छ ।

“प्यारालाइसिस भईसकेपछि ०६२ सालदेखि सुर्खेतको दशरथपुर रहेको माओवादी क्याम्पमा बसेर ०६८ सालमा अवकाश लिएको उहाँले बताउनुभयो । त्यही अवस्थामा उहाँले बिबाह गर्नुभयो । क्याम्पबाट बाहिरिएपश्चात् जीवन निर्वाह भत्ता स्वरुप रु.छ हजार पाउँदै आएको थिएँ तर डेढ वर्षदेखि त्यही भत्ता मैलै पाएको छैन,” दुखेसो पोख्दै उहाँले भन्नुभयो, “पुनरावलोकनमा मलाई छुटाईएको छ । भत्ता नपाउँदा मलाई जीवन निर्वाह गर्न अहिले निकै गाह्रो छ । आजभोलि मैले रु.२० हालेर दैनिक तीन पटक औषधि लिँदै आएको छु ।”

उहाँले आफूजस्तै साथीहरुले क र ख वर्गमा पारेर मासिक रु.नौदेखि १८ हजार जीवन निर्वाह भत्ता खाइरहेको जनाउनुभयो । उक्त सेवा नपाउँदा कठिन तरिकाले जीवन जिईरहका आफूजस्तै घाइतेको हरिविजोग भएको अपाङ्गता भएका व्यक्ति सिग्देलको भनाई थियो । आर्थिक उपार्जनका कुनै स्रोत नभएपछि परिवारले हेला गर्न थालेको उहाँको भनाई थियो ।

चेतनका अनुसार पार्टीले वेवास्ता गर्यो भन्ने लागिरहेकै छ । घरबाट त्यस भन्दा अँझ बढी असहयोग भएको छ । पाँच÷छ वर्षदेखि उहाँलाई घर परिवार र ससुरालीले पनि पीडा दिँदै आएका छन् । प्यारालाइसिस अवस्था हुँदा आफ्नै घरको श्रीमतीले नै धिकार्न थालेपछि त्यस व्यवहारले उहाँलाई मरु कि बाँचु भन्ने सोचले किनारामा पुर्याएको छ ।

गह फिराउँद उहाँले भन्नुभयो, “घरमा श्रीमती र दुई छोरी छन् तर भएर के गरु ? श्रीमतीले पटक पटक मलाई मर्न दुरुत्साहन गर्छे । तँ यस्तो विना कामको मान्छे बाँचेर के गर्छस् ? चाँडो मर, बाटो खुला हुन्छ भन्छे र अपमान गर्छे । मैले प्रतिक्रिया दिँदा चोट खानुपरेको छ । राज्यले असम्मान गरेको थियो नै त्यो भन्दा धेरै घरबाट अपमान पाएको छु ।”

त्यतिमात्र नभएर श्रीमतीले आफूलाई चाँडो डिभोर्स दे भन्ने र ससुरालीहरुले पनि सम्बन्ध विच्छेदन दिन धम्की दिईरहेको उहाँले बताउनुभयो । परिवारको अपमान, गाली र ससुरालीहरुको धम्कीको पीडाले आफूलाई आत्महत्या गर्नतर्फ उत्प्रेरित गराउन थालेको चेतनले जनाउनुभयो ।

साहारा पाउने बेला नै बेसाहारा बन्नुपर्ने परिस्थिति आइलागेपछि चेतनलाई त्यसले निकै पीडित बनाएको छ । तीन वर्ष अघि काठमाडौमा प्रचण्डलाई भेटेर हाम्रो व्यवस्था नभए हजुरकै कार्यकक्षमा आएर आत्महत्या गर्छु भन्दा सबैको व्यवस्था गर्छु भनेर अध्यक्ष प्रचण्डले जवाफ दिएको उहाँले सुनाउनुभयो । जुन पार्टीमा लागेर नेपाली जनताको नौलो बिहानी ल्याउन जीवन संघर्ष गरे त्यही पार्टीले आफ्नो पीडामा मलम लगाउने आशा रहेको सिग्देलले जनाउनुभयो ।

१४ वर्षदेखि प्यारालाइसिसले थलिएका ३४ वर्षीय चेतनलाई अँझै पनि एक चोटी पुनः अध्यक्ष प्रचण्ड र तत्कालीन् लडाईको कमाण्डर जनार्दनका अगाडि फेहरिस्त कुार राख्ने घडो छ । युद्धको डरलाग्दो लडाईबाट घाइते भई हाल अपाङ्गताको जीवन जिईरहेका उहाँलाई घरमा श्रीमतीको कहिलेकाँहीको हिकाईले अचेतन अवस्थामा पुर्याउँछ ।

“घरयासी पीडाले एकछिन् त मर्नै परेपनि अध्यक्ष प्रचण्डसँग भेटेर मनको कुरा सबै पोख्छु र त्यही पुगेर मरौं जस्तो लाग्छ तर नौ र दुई वर्षको छोरीको यादले पुनः सोच्न बाध्य बनाउँछ,” सिग्देलले भन्नुभयो । श्रीमती र ससुरालीका कारण छोरीहरुले पनि आफूसँग बोल्न छोडेको दुखेसो व्यक्त गर्दै उहाँले छोरीहरुलाई आफूलाई त्यसो नगर्न भनेर सुझाउँदै आएको बताउनुभयो ।

उहाँले एकै घरमा बसेपनि श्रीमतीसँग सम्बन्ध नरहेको जनाउनुभयो । तथापि दिनहुँ जसो आफूमाथि भईरहने घरेलु हिंसाका साथै परिवारको अपमानले बिरक्तिनु परेको उहाँले पीडा व्यक्त गर्नुभयो । “म प्यारालाइसिस रोगका कारण थलिएको छु र काम गर्न सक्दिन भन्ने कुरा श्रीमतीलाई राम्रोसँग थाहा छ,” सिग्देलले भन्नुभयो, “दुर्भाग्य ! यस्तो कमजोर अवस्थामा पनि हिंसा र अपमान खेपिरहेको छु ।” अब आफूजस्तै समस्या भएका द्वन्द्वका घाइतेहरुको व्यवस्थापन पार्टीले नै गर्छ भन्ने पर्खाईमा रहेको उहाँले बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्