OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २६, २०७८सुर्खेत
७५४ पटक

२६ मंसिर २०७८, आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आज जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले सम्बोधनमा क्रममा अब प्रतिष्ठानमा प्रगतिका नयाँ अध्यायहरु थपिदै जाने बताउनुभयो । “हाम्रो मुलुकमा कर्णालीको विशिष्ट पहिचान छ,” उहाँले भन्नुभयो, “प्राचीन कालदेखि खस सभ्यताको आधारभूमिका रुपमा परिचित कर्णाली नेपाली भाषाको जननी बनेर गौरवशाली सिंजा सभ्यता विकास गरेको छ जसले विश्वसामु हाम्रो मौलिकता प्रवद्र्धन गरिरहेको छ ।”

गौरवशाली इतिहास बोकेको कर्णालीलाई थप प्रसिद्ध बनाउन प्रतिष्ठानको ठूलो भूमिका रहने उहाँको भनाई थियो । मुलुकको ठूलो प्रदेश कर्णाली विकासका दृष्टिले अस्थायीरुपमा पछि परेपनि पवित्र एवं उर्वर भूमिको प्राकृतिक सम्पदाको अपार संभावनालाई सदुपयोग गर्न सकिए आर्थिक समृद्धि हुने र त्यसले समुन्नत प्रदेश रुपान्तरणमा सहयोग पुर्याउने राष्ट्रपति भण्डारीको दावी थियो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “कर्णालीमा उत्पादित उच्च मूल्यका मह, जडिबुटी, हस्तकला, बहुमूल्य यार्सागुम्बा, कटुकी, सुगन्धित वनस्पति शिलाजीत जस्ता वस्तुहरु विदेशमा कम मूल्यमा निर्यात हुने तर त्यसबाट उत्पादित औषधि नेपालीले महंगोमा किन्नुपर्ने बाध्यताबाट छुटकारा पाउन प्रतिष्ठानले अनुसन्धान केन्द्र स्थापना गर्नुपर्दछ । यहाँ उपलब्ध बहुमूल्य जडिबुटीको पहिचान र उपयोग नेपालमै हुने वातावरण बनाउन सक्नुपर्दछ ।”

उहाँले पहाडी भेकको जुम्ली मार्सी धानको उत्पादनमा जोडदिन आग्रह गर्नुभयो । चन्दननाथ ब्राण्ड पनि नेपाली बजारमा लोकप्रिय हुँदै गएकोले जुम्ली मार्सी धान उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई थियो । राष्ट्रपति भण्डारीका अनुसार कर्णालीको भौतिक पूर्वाधारमा लगानी बढाएर ‘स्वर्गकी अप्सरा’का नामले परिचित मुगुको राराताल, विश्व प्रसिद्ध धार्मिक–साँस्कृतिकस्थल मानसरोवरसम्म पहुँच र हिल्सा जोड्ने सडकमार्ग निर्माणमा जोड दिई अन्तराष्ट्रिय सीमा नाकालाई पूर्वाधारयुक्त र सुदृढ तुल्याउनुपर्दछ ।

लामो समयदेखि आफ्नै घर आँगनमा उच्चस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउन देखेको सपना र गर्नुभएको प्रयास सार्थक भएको भन्दै राष्ट्रपति भण्डारीले हार्दिक बधाई ज्ञापन गर्नुभयो । उहाँले प्रतिष्ठान स्थापना कालदेखि बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्ने अवस्थामा ल्याउन योगदान पुर्याउने कर्णालीवासी जनता, विद्धत समुदाय, प्राज्ञिक जगत, नेपाल सरकार र सम्वद्ध निकायहरुलाई समेत हार्दिक धन्यवादका साथै बधाई ज्ञापन गर्नुभएको थियो ।

राष्ट्रपतिले रु.७६ करोड लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलन्यास गर्नुभएको छ । शैक्षिक कार्यक्रमको शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्मा, बीएनएस, बीएमएसलगायतका शैक्षिक कार्यक्रमहरुको औपचारिक पढाई शुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रतिष्ठानको स्थापनाले कर्णालीको स्वास्थ्य सुचाङ्क माथि उक्लेको बताउनुभयो । प्रदेश प्रमुख परियारले कर्णाली मात्र नभई प्रतिष्ठान सिंगो मुलुकको स्वास्थ्य अवस्थामा कोसेढुंगा सावित हुँदै गएको तर्क गर्नुभयो ।

नेपाल सरकारका स्वास्थ्य जनसंख्या तथा राज्यमन्त्री भवानीप्रसाद खापुङले प्रतिष्ठान स्थापना गर्दा स्थानीयसहित सबैले गरेको दुःखको प्रतिफल पाईएको भन्दै प्रगतिको शुभकामना दिनुभयो । उहाँले चिकित्सा शिक्षाको शैक्षिक भवन उद्घाटनमा सरकारको उपस्थिति जुम्लामा गर्विलो भएको जनाउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने सेवा सुविधा, स्रोत साधन वितरणमा कर्णाली प्रतिष्ठान कहिल्यै पछि नपर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले चिकित्सकहरु उत्पादन भएपछि शहर केन्द्रीत नभई यहाँ उत्पादित जनशक्तिले दुर्गम क्षेत्रमा आफ्नो पेशा रोज्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिष्ठानका संस्थापक एवं पूर्वमन्त्री नरेश भण्डारीले पिछडिएको क्षेत्रको जीवनमा नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताउनुभयो । उहाँले सेतो हिउँमा एप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना बोकेका कर्णालीवासीहरुको व्यग्र प्रतिक्षा पुरा भएको जनाउनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले कर्णालीका लागि फरक र विरलै दिन भएको भन्दै प्रतिष्ठान यहाँ पुरयाउन योगदान पुरयाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको आयोजनामा दस्तावेज गर्न कार्यक्रमबाटै अपिल गर्नुभयो ।

उपकुलपति रावलले प्रतिष्ठानका पहलकर्ता, सरकार, सरोकारवाला र स्थानीयको सहयोगले प्रतिष्ठान कोषेढुंगा सावित भएको बताउनुभयो । कर्णाली रोग, भोक र गरिबीको पर्याय नभई प्रतिष्ठानले मुलुकको स्वरुप बदल्न सहयोग पुर्याउने दावी गर्नुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा.श्रीकृष्ण गिरीले धेरै कठिन परिस्थितिमा कर्णालीमा जन्मिएको यो प्रतिष्ठानको महत्व भिन्नै रहेको जनाउँदै प्रतिष्ठानलाई शैक्षिक कार्यक्रमहरु उपलब्ध गराउन प्रथामिकतामा राखिएको बताउनुभयो । उहाँले प्रतिष्ठान स्थापनाका लागि पहल गर्ने पहल समिति संयोजक तथा पूर्वमन्त्री नरेश भण्डारीसहितका जुम्लावासी, डा.गोविन्द केसी, नेपाल सरकार र सवैलाई धन्यवाद दिनुभयो ।

प्रतिष्ठानका संस्थापक रजिष्ट्रार श्याम लम्सालले स्थापनाकालको स्मरण गर्दै राज्य र स्थानीयसँग गरिएको पहल र सबैको सहयोगले आज प्रतिष्ठान यहाँ पुगेको बताउनुभयो । उहाँले २५ शैयाको अस्पताल ३०० शैयामा परिणतदेखि प्रतिष्ठान जीवित बनाईराख्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले कर्णालीबाट काठमाडौको यात्रा र राज्यको ढोकामा प्रतिष्ठानलाई अघि बढाउन सयौं पटक पहल गर्ने संस्थापक नरेश भण्डारी, संस्थापक पूर्वउपकुलपति प्राध्यापक डा.पारसकुमार आचार्यसहितको टोलीप्रति सम्मान प्रकट गर्नुभयो ।

प्रतिकृया दिनुहोस्