OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७८सुर्खेत
३७७ पटक

कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त योजनामन्त्री विष्टलाई मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । विष्टलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजनामन्त्री विष्टलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ ।

मन्त्री विष्टले मंगलबार राति ८ः३० बजे पदबहाली गर्नुभएको थियो । सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उहाँ नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलको सदस्य हुनुहुन्छ ।

मन्त्री विष्ट जसले जेल ब्रेक गरे 

युवा माझ निकै लोकप्रिय मानिदै आएका विष्ट माओवादी केन्द्रभित्र एक असल व्यक्तित्व र सालिन छवि भएका नेताका रूपमा पनि चिनिनुहुन्छ । माओवादीले सुरु गरेको जनयुद्धमा विद्यार्थी कालदेखि नै समाहित हुनुभएका विष्ट वि.सं २०३६ सालमा कालिकोटमा जन्मिनुभएको हो। तथापि पछिल्लो समय उहाँको स्थायी ठेगाना बराहताल गाउँपालिका १ सुर्खेत हो ।

मानविकी तथा राजनीतिक शास्त्रमा उहाँले स्नातक उपाधि प्राप्त गर्नुभएको छ । मन्त्री विष्टले विसं. २०७४ सालको निर्वाचनमा सुर्खेत प्रदेशसभा २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा जित्नुभएको थियो । २०५१ सालदेखि माओवादी केन्द्रमा संलग्न विष्ट ०५६ सालमा भूमिगत हुनुभएको थियो। विसं.२०५६ देखि ०५८ माघ १ सम्म जेल जीवन बिताउनुभयो। सुर्खेत जेलमा रहँदा विसं.२०५८ जेल नै ब्रेक गरेपछि उहाँलाई जेल बै्रकर कमाण्डरका रुपमा पनि चिनिन्छ।

अखिल क्रान्तिकारीको महासचिव समेत भईसक्नुभएका विष्ट पार्टीको पोलिटब्युरो सदस्य समेत हुन् । चीन, भारत, फिलिपिन्स र दक्षिण कोरियालगायतका देशहरुको समेत उहाँले भ्रमण गरेको अनुभव छ ।

प्रतिकृया दिनुहोस्