

८ मंसिर २०७८, बुधबार
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । कुल ९१७ मत मध्ये खसेको ८७४ मतमा ७३६ मत प्राप्त गरेर उहाँ विजयी हुनुभएको हो ।
काँग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भएपनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने ईच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं. १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको थियो । त्यस्तै, उक्त क्षेत्रबाट संस्थापन (देउवा) पक्षका सभापति झकबहादुर डाँगीको प्यानल विजय भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत कँडेलका अनुसार सभापति डाँगीले खसेको ८७४ मतमा ७१९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी बल बहादुर वलीले १०३ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै, सचिवमा मोहन रानाले ७२० र पदम बहादुर खत्रीले ७१७, सह–सचिवमा प्रेम सिंह ठकुरीले ६८४ र यामलाल पंगालीले ६८७ मत प्राप्त गरी विजय हासिल गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।