OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २५, २०७८काठमाडौं
५४८ पटक

२५ कार्तिक २०७८, बिहीबार

कर्णाली प्रदेशका खसभाषी विज्ञहरुले आजबाट शुभारम्भ भएको जनगणनामा खसभाषीहरुको तथ्य विवरण संकलन गर्न सुझाव दिएका छन् ।

खसभाषीहरुको बाहुल्यता रहेको कर्णाली प्रदेशमा विसं.२०६८ सालको जनगणनामा खसभाषा बोल्नेहरुको जनसंख्या ३७ जना मात्र भएको कमजोर तथ्याङ्कले राष्ट्रभाषामाथि नै अवमूल्यन भएको उनीहरुले टिप्पणी गरेका छन् । जुम्ला बहुमुखी क्याम्पसका उपप्रध्यापक प्रकाशचन्द्र खत्रीले ०६८ सालको जनगणनामा खसभाषीहरुको तथ्याङ्क भन्दा मिथ्याङ्क अभिलेखिकरण हुँदा गम्भीर भूल भएको टिप्पणी गनुभयो ।
“यस अघि भाषा आयोगले राष्ट्रिय जनगणना २०६८ लाई आधार मानेर कर्णालीमा १८ जनाले जुम्ली र १९ जनाले खस भाषा बोल्छन् भन्ने तथ्याङ्क निकालेको थियो,” उपप्रध्यापक खत्रीले भन्नुभयो, “नेपाली भाषाको प्राचीन स्वरुप खस भाषा हो । यसको अस्तित्व जोगाउन, लोपोन्मुख हुन नदिन यसपालिको जनगणनामा मातृ तथा पुर्खाको भाषा के हो ? भन्ने प्रश्नको उत्तरमा खस भाषा उल्लेख गर्न अनुरोध गर्दछु ।”

उपप्रध्यापक खत्रीले खस भाषाको गणनाका लागि यस पटक प्रश्नकर्ता र उत्तरदाता दुवैलाई ध्यान दिन सुझाउनुभयो । कर्णालीका संस्कृतिसम्बन्धी जानकार तथा खस भाषासेवी रमानन्द आचार्यले खसभाषाको अस्तित्व र पहिचान यथावत राख्न गणनामा अनिवार्य समेटिनुपर्नेमा जोड दिनुभयो ।

भाषासेवी आचार्यले गणकहरुले खसभाषाको तथ्य विवरण आउने गरी उत्तरदातालाई प्रश्न गर्न आग्रह गर्नुभयो । “यस अघि खसभाषामा मात्र ३७ जनाले मात्र बोल्दछन् भनेर राष्ट्रिय जनगणनाको तथ्याङ्क सार्वजनिक भूल मात्र होइन, निकै दुःखको कुरा हो,” उहाँले भन्नुभयो, “यो जनगणनामा त्यसो नहोस् ।” खसभाषीहरुको तथ्याङकलाई त्रुटिरहित बनाउन जनप्रतिनिधिहरुले पनि जोड दिएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आजको शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेशका जनगणना अधिकारी पोमनारायण पौडेललाई सबै गणकहरुलाई खसभाषा बोल्ने जनसंख्याको यथार्थ विवरण आउने गरी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । “हामी आजभोलि पनि छकल (आज बिहान) बेलीबा (हिजो बेलुका) जस्ता शब्द संयोजित खसभाषा बोलिरहेका छौं,” उहाँले भन्नुभयो, “यस्ता भाषा बोल्नेहरुको सहि तथ्याङ्क आउन कमजोरी हुनुहुँदैन ।”

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले यो जनगणनामा खसभाषामा जोड दिन उत्तरदातालाई अनुरोध गर्नुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, “खसभाषा हाम्रो संस्कृति, सभ्यता, अस्तित्व र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पति हो । यसको ईतिहास, गौरव र बिरासतलाई बचाईराख्न खसभाषीहरुको तथ्यगत तथ्याङ्क जनगणनामा समेटिनुपर्दछ ।”

कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलले मुख्यमन्त्रीको निर्देशन बमोजिम खसभाषीहरुको तथ्यगत तथ्याङ्क आउने गरी काम गर्न सबै गणकहरुलाई निर्देशन गरिएको बताउनुभयो । विसं.२०६८ मा प्रश्नकर्ता र उत्तरदाताको कमजोरीले गणनामा सहि तथ्याङ्क आउन नसकेको बताउँदै जनगणना अधिकारी पौडेलले यस पटक गणकहरुलाई स्पष्ट बनाएर पठाईएको जनाउनुभयो ।

पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जनगणनाले नै खसभाषीहरुको आधिकारिक तथ्याङ्क आउने बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ को प्रश्नावलीमा प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्ने छ । त्यहाँ मातृभाषा भनिएको खस भाषा लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयहरुले सुझाएका छन् ।

उत्तरदाताका लागि मुख्य ३७ र सामुदायिक २१ गरी ५८ वटा प्रश्नावली रहेका छन् । ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्