OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २३, २०७८सुर्खेत
७१० पटक

२३ कार्तिक २०७८, मंगलबार

हिमालीबासीलाई कामले खासै कहिल्यै छोड्दैन । उनीहरुका लागि फुर्सद भनेकै बेलुका खाएर भोलि बिहान सुतुञ्जेलसम्म मात्र हो । उठ्ने बित्तिकै पुनः उकाली ओराली गर्नुपर्ने उनीहरुको दैनिकी नै हो । मूलतः हरेक समय हिमाली जनजीवन कामकै चापाचापमा बित्ने गर्दछ ।

कामको चापले होला वर्ष दिनमा आउने नेपाली हिन्दु धर्मावलम्बीहरुको महान् पर्व दशैं र तिहार हिमालवासीहरुले आरामका साथ मनाउन पाउँदैनन् । उनीहरुले ठिक दशैं तिहारकै अवधिमा धान, मकै, कोदो, सिमी, भट्ट, चिनो, कागुनो, मास, गुराउँस, मार्सेलगायतका अन्नबाली भण्डारण गर्नुपर्ने हुन्छ । त्यो चाप यो वर्ष छुट्ने कुरा पनि रहेन ।

दशैं खाएर धानलगायतका बाली भण्डारण गरौंला भनेकैले होला यसपालि यहाँका नागरिकहरुले प्राकृतिक विपत्तिबाट ठूलो क्षति भोग्नुपर्यो । असोज ३१ गतेबाट आएको अविरल वर्षाका कारण कार्तिक २ गते आएको भीषण बाढीले तिला र तातोपानी गाउँपालिका ४ जुम्लाका स्थानीयले प्राकृतिक विपत्तिबाट अन्नबालीको ठूलो क्षति भोग्नुपर्यो ।

दशैंको आनन्द लिन नपाउँदै विपत्तिको चपेटामा परेका यहाँका स्थानीयहरुको तिहार (दीपावली) पनि राम्रो भएन । बिगत वर्षको जस्तो देउसी भैली यस वर्ष सकेन । कोरोना महामारीले हो या के हो ? देउसी भैली खेल्न मान्छे नै गाउँमा नआएको तिला गाउँपालिका ४ जुम्लाका मानबहादुर सुनारले बताउनुभयो ।

“हाम्रो आँगनमा एक दुई समुह देउसी भैलो खेल्दै आए तर उनीहरुले डिजे बाहेक अरु कुनै बजाएनन्,” सुनारले भन्नुभयो, “ढिचिक्क् ढिचिक्क् गर्ने म्यूजिक (संगीत) सिवाय अरु केही सुनिएन । त्यसैमा केटाकेटी बहुलाह तालमा नाचेको देखियो । नाच पनि कति असभ्य ? नृत्यका ती दृश्य देख्दा र डिजे संगीत सुन्दा हाम्रो मौलिकता सकिएछ जस्तो लाग्यो ।”

तिला गाउँपालिका ४ साँपुल्ली गाउँका स्थानीय ज्येष्ठ महिला बिजुली सिंहले देउसी भैलेराहरुले बिस्तारै आफैले पुगार्न (भट्याउन) समेत छोडेको बताउनुभयो । पहिले जस्तो अहिले देउसी भैलोको रौनकता नभएको बताउँदै सिंहले रक्सी, जाँड खाने, छोटा च्यातिएका कपडा लगाएर देउसीले खेल्नेहरुले रमाईलो भन्दा लाजमर्दो अवस्था ल्याएको प्रतिक्रिया दिनुभयो ।

सोही वडाका स्थानीय मानबहादुर शाहीले उतिबेला साथी संगीहरु मिलेर खेलिने देउसी भैली र अहिलेको धेरै भिन्नता रहेको बताउनुभयो । शाहीले भन्नुभयो, “त्यो बेला हामी आफैले गीत रच्थ्यौं । मादल आफैले बजाएर नाच्थ्यौं । सबैले आआफ्नो प्रतिभा देखाउँथे । लहरका साथै ताल मिलाएर भैली देउसी खेलिन्थ्यो । अहिलेका उपियाँ उफ्रे जस्तो गर्छन् ।”

कर्णालीका संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले हाम्रा मौलिक संस्कृति सकिदैं जानुले कर्णालीको पहिचान गुम्ने खतरा बढ्दै गएको प्रतिक्रिया राससलाई दिनुभयो । “संस्कृति सभ्यताको जननी हो, मूल हो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु हरेकको दायित्व हो । अन्यथा आफै हराएर जाने अवस्था नआउला भन्न सकिन्न,” अध्यक्ष न्यौपानेले भन्नुभयो ।

तातोपानी गाउँपालिकाले साँस्कृतिक, सामाजिक र ऐतिहासिक मौलिकपन बोकेका सबैखाले पर्व तथा नाच जस्तोः देउसी भैली, जुम्लामा मंसिर पूर्णिमामा खेलिने सानो भैली, पुस महिनामा खेलिने ठूलो भैली, बारुवा, सोह्रुवा र बिस्वाँ, पञ्चेबाजा संरक्षणमा विशेष अभियानमा जोड दिईएको उहाँले बताउनुभयो । अध्यक्ष न्यौपानेका अनुसार आयतित संस्कृतिले मौलिक संस्कृतिमाथि तीव्र आक्रमण गरिरहेकोले त्यसको संरक्षणार्थ सबै सरकार र सम्बन्धित सरोकारवाला बेलैमा ध्यान दिनुपर्दछ ।

प्रतिकृया दिनुहोस्