OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ७, २०७८काठमाडौं
६३१ पटक

७ भाद्र २०७८, सोमबार

एजेन्सीः अफगानिस्तानमा तालिबानी शासन फर्किएको छ । तालिबानले आफ्नो पहिलो शासनकालमा महिलाहरुमाथि निकै ज्यादती गरेको थियो । महिलाहरुमाथि कैयौं किसिमका कडा प्रतिबन्ध लगाइएका थिए । यो प्रतिबन्धका कारण त्यहाँका महिलाहरुले निकै कष्टकर जीवन बिताउनुपर्यो । यस्तै कष्टकर जीवन बिताउने एक महिला नादिया गुलाम पनि हुन् । नादिया एक लेखिका हुन् ।

नादिया १० वर्षसम्म पुरुष बनेर बाँच्नुपर्यो किनकि उनी अफगानिस्तानकी थिइन् र त्यहाँ महिलाहरुलाई बाहिर काम गर्न र पढ्न प्रतिबन्ध थियो । यही कारण नादियालाई सानै उमेरमा आफ्नो घर सम्हाल्नको लागि पुरुष बन्नुपर्यो । उनले भनिन् ‘म ८ वर्षकी हुँदा हाम्रो घरमा बम खसेको थियो । मेरो भाइ यो आक्रमणमा मारिए र म गम्भीर तरिकाले घाइते भएँ । मलाई त्यतिबेला महसुस भयो कि युद्धका कारण कसैको जीवन कसरी बर्बाद हुन्छ ।’

उनले अगाडि भनिन् ‘अफगानिस्तानको एक अस्पतालमा आफ्नो उपचार गराइरहेका बेला म अचम्ममा परें । त्यहाँ ठूलो संख्यामा घाइतेहरु थिए र उनीहरुको स्थिति मेरो भन्दा खराब थियो । त्यसपछि मलाई महसुस भयो कि सबैले आफ्नो भागको संघर्ष गर्नुपर्छ र म पछि हट्ने छैन ।’ त्यसपछि ११ वर्षको उमेरमा नादियाले निकै महत्वपूर्ण फैसला गरिन् । नादियाले ११ वर्षको उमेरमा आफ्नो पहिचान मेटाइन् र उनी अब आफ्नो भाइको रुपमा संसारको अगाडि आइन् ।

नादियाले यस्तो गर्नु उनको बाध्यता थियो किनकि उनले परिवारको पेट पाल्नु थियो । तर, तालिबान राज भएका कारण उनको अगाडि चुनौतीहरु पनि धेरै थिए । नादिया पुरुषको कपडा लगाएर काममा गइरहिन् । एक समय त नादियाले बिर्सिइसकेकी थिइन् कि उनी महिला हुन् । उनले १० वर्षसम्म आफ्नो परिवारलाई आर्थिक सहायता गर्न यस्तो गरिरहिन् ।

उनले भनिन् ‘कैयौं पटक यस्तो अवस्था आउँथ्यो कि मेरो झुटको पोल खुल्नै लागेको हुनथ्यो तर हरेक पटक म भाग्यले बचें ।’ नादिया १५ वर्ष पहिले एक गैर सरकारी संस्थाको सहयोगमा अफगानिस्तानबाट निस्किइन् । तर, उनको परिवार भने अहिले पनि अफगानिस्तानमै छन् । नादिया भने स्पेनको केटालोनियामा अफगानी शरणार्थीको रुपमा बसिरहेकी छिन् ।

स्पेनमा बस्ने क्रममा उनले पत्रकार एग्नेस रोत्जरको सहयोगमा आफ्नो अनुभवको आधारमा एउटा किताब लेखेकी छिन् । यो किताब प्रकाशित भएपछि उनी निकै चर्चामा आइन् । हालै तालिबान अफगानिस्तानको शासनमा फेरि फर्किएकोबारे नादिया भन्छिन् ‘मैले कैयौं वर्षदेखि भनिरहेकी थिएँ कि तालिबान कहीँ गएको छैन । अमेरिका र बाँकी अन्तर्राष्ट्रिय फोर्सले हामीलाई धोका दिए । उनीहरुले स्थिति अनियन्त्रित बनाए र अब अफगानीले यो सब भोग्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्