OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआषाढ १९, २०७७सुर्खेत
६४५ पटक

 १९ असार २०७७, शुक्रबार

कर्णालीमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको संख्यामा वृद्धि भएको छ । आज मात्रै ५१ संक्रमितले यस प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

दुई महिलासहित ५१ जनाले कोरोना जितेर घर फर्केका हुन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

“५१ जनाले कोरोना जितेसँगै कर्णालीका निको भएर घर फर्कनेको संख्या एक हजार १७८ पुगेको छ,” महाशाखा प्रमुख डा.तिवारीले भन्नुभयो, “यसले बाँकी रहेका ३०५ संक्रमितहरुलाई कोरोना जित्ने उर्जा बढेको छ ।” कर्णालीका संक्रमितहरुमा कोरोना भाइरसको संक्रमण देखिएपनि अहिलेसम्म लक्षण नदेखिएको उहाँले बताउनुभयो ।

शुक्रबार नै दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा नारायण नगरपालिकाका आठ र डुंगेश्वर गाउँपालिका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ४८३ पुगेको छ । त्यसमध्ये १०५ जना स्थानीय भने बाँकी सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिमा संक्रमण देखिएको बताईएको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय संक्रमितमा स्वास्थ्यकर्मी, क्वारेन्टिन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि रहेका छन् । अधिकृत कँडेलले भन्नुभयो “२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ, ती मध्ये धेरैजसो निको भएर फेरी काममा फर्किसकेका छन् ।” कोरोना संक्रमणका कारण कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्