
५ साउन २०८३, मंगलबार
सुर्खेतः उच्च अदालत सुर्खेतले जबरजस्ती करणीका मुद्दाहरु बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
‘उच्च अदालत सुर्खेत तथा मातहतका जिल्ला अदालतहरुको आव.०८२÷०८३ मा भए गरेका काम कारवाहीहरुको वार्षिक प्रगति विवरण आज वीरेन्द्रनगरमा सार्वजनिक गर्दै उक्त अदालतले जबरजस्ती करणीका मुद्दाको संख्या सबैभन्दा बढी रहेको बताएको हो । अदालतका मुख्य न्यायधीश हरिप्रसाद भण्डारीले आव.०८२÷०८३ मा कुल ९१५ मध्ये १६९ (१८ दशमलव ४६ प्रतिशत) मुद्दा जबरजस्ती करणीका रहेको जानकारी दिनुभयो ।

त्यस्तै, लागु औषधका १२०, रीट ७९, ज्यान मार्ने उद्योग ७७ कर्तव्य ज्यान ६२, सवारी ज्यान ३५, जबरजस्ती करणी उद्योग २६, अंशबण्डा २५ र अन्य प्रकृतिका देवानी तथा फौंजदारी मुद्दा ३२२ रहेको उहाँले बताउनुभयो । यसरी जबरजस्ती करणीका मुद्दा बढ्नुमा विकसित सामाजिक परिवेश र त्यसले पारेको नकरात्मक प्रभाव नै रहेको बताउँदै मुख्य न्यायधीश भण्डारीले कुल मुद्दामा ७५५ फछ्र्यौट र १६० बाँकी रहेको जनाउनुभयो ।
उहाँका अनुसार तीन आर्थिक वर्षमा मुद्दाको लगत तुलना गर्दा पछिल्लो समयमा वृद्धि हुँदै गएको छ । आव.०८०÷०८१, ०८१÷०८२ र ०८२÷०८३ सम्मको तीन वर्षको अवधिमा जाजरकोट जिल्ला अदालतमा क्रमशः ३४२, ४११, ४१९, दैलेख जिल्ला अदालतमा ४६२, ५३३ र ५४४, रुकुमपश्चिम जिल्ला अदालतमा ६२०, ६७९ र ७८१, सल्यान जिल्ला अदालतमा ७२४, ७३१ र ८०९, सुर्खेत जिल्ला अदालतमा दुई अजार ७१६, दुई हजार ९१२ र तीन हजार १४६ मुद्दा संख्या रहेको छ ।
उच्च अदालत सुर्खेतमा भने .०८०÷०८१ मा ९१६, ०८१÷०८२ मा ८३२ र ०८२÷०८३ मा ९१५ मुद्दा संख्या रहेको छ । आव.०८२÷०८३ को कार्य प्रगतिलाई हेर्दा उच्च अदालत सुर्खेतले ८२ दशमलव ५, जाजरकोटले ८९ दशमलव ४, दैलेखले ७९ दशमलव ८, रुकुमपश्चिमले ७१ दशमलव २, सल्यानले ७३ दशमलव ४ र सुर्खेत जिल्ला अदालतले ६३ दशमलव २ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको उच्च अदालत सुर्खेतका निमित्त रजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिनुभयो ।



