OnlinePana

आज : २०८३ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ६, २०८३काठमाडौं
९ पटक

६ साउन २०८३, बुधबार

सुर्खेतः नेपालकै पहिलो अर्गानिक जिल्ला घोषित जुम्लाले चालु आर्थिक वर्ष २०८३÷०८४ मा रु.७० करोड बराबरको स्याउ निर्यात गर्ने लक्ष्य राखेको छ ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार गत आव.२०८२÷०८३ मा जुम्लाले रु.४१ करोड २० लाख ८९ हजार बराबरको स्याउ निर्यात गरेको थियो । गत वर्ष.१८ हजार २४५ मेट्रिक टन अर्थात एक लाख ८२ हजार ४५० क्विन्टल स्याउ उत्पादन हुँदा जुम्लाले ५५ हजार ९१० क्विन्टल मात्र स्याउ निर्यात गरेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्यातित स्याउ प्रति केजी रु.७३ दशमलव ७० पैसामा कारोबार भएको छ ।

चालु आर्थिक वर्षमा २० हजार ७० मेट्रिक टन अर्थात दुई लाख ७०० क्विन्टल स्याउ उत्पादन अनुमान गरिएको उहाँले बताउनुभयो । क्षेत्रफलका हिसाबले गत आव.२०८२÷०८३ मा चार हजार ४९७ हेक्टर मध्ये अहिले १०७ दशमलव ५३ हेक्टर जमीन थप भई चार हजार ६०४ दशमलव ५३ हेक्टर क्षेत्रफलमा स्याउ फलिरहेको उहाँको भनाई छ । त्यसभन्दा छुट्टै ५२ हेक्टर जमीनमा ईटालियन फुँजी जातको स्याउ लगाइएको छ ।

उहाँले भन्नुभयो, “गत वर्षभन्दा यस वर्ष स्याउको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले गत पुसदेखि माघसम्म यहाँका ८०० किसानलाई स्याउ बगैँचा काटछाँटको अभियान चलाएका थियौं । यसले स्याउको दाना ठूलो, पोटिलो, स्वादिष्ट, रंगसहित आकर्षक हुने र त्यसबाट किसानले विगत भन्दा बढी मूल्य प्राप्त गर्ने अपेक्षा गरेका छौं । समग्रमा गत वर्ष जुम्लाले रु.एक अर्ब बराबरको स्याउ उत्पादन गरेको थियो ।”

स्याउको परिमाणमा वृद्धि र गुणस्तरीयता कायम गर्न भदौ पहिलो साताभन्दा अगाडि नटिप्ने गरी कृषि प्राविधिक जिल्ला समन्वय समिति जुम्लाले निर्णय गरेको र सोही अनुसार स्याउ किसान तथा व्यापारीहरुलाई सूचना गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । स्याउको जात, स्थान र क्षेत्र हेरेर पालिकाको कृषि शाखाको सिफारिसमा जिल्ला समन्वय समितिको निर्णय, प्रहरी प्रशासनको समन्वयमा स्याउको संकलन तथा निर्यात हुन सक्ने उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्