
५ साउन २०८३, मंगलबार
सुर्खेतः मानसिक स्वास्थ्यमा आएका समस्याबाट मौन महामारीका रुपमा फैलिँदै गएको मानसिक रोगको न्यूनीकरणका लागि नेपाल सरकारले विभिन्न किसिमका सचेतनाका कार्यक्रममा जोड दिएको छ ।
मानसिक स्वास्थ्यमा भएका गडबढीका कारण व्यक्तिको मनोवैज्ञानिक, सामाजिक, मानिसक र सवेगात्मक अवस्थामा समस्या भइरहेका बेला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउनलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाको महिनाको रुपमा मनाउन आग्रह गरेको हो । उक्त कार्यालयले मंगलबार सरोकारवाला तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै पछिल्लो समयमा देशभरिझैं कर्णालीमा पनि भयावह बन्दै गएको मानसिक समस्या कम गर्न सबैको हातेमालो आवश्यक भएको बताएको छ ।
अन्तरक्रियामा जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यमा धेरैले ध्यान नदिएका कारण समाजले दुश्परिणाम भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले समाज तथा परिवारको दुर्गति, आत्महत्याका घटना बढ्दै जानुको कारण मानसिक समस्या हो भन्ने बुझ्न र बुझाउन जरुरी छ । नत्रता आज सामान्य लाग्ने कुराहरुले भोलि जटिल अवस्था सिर्जना गरिदिन सक्छ । यसमा सबैले बेलैमा ध्यान पुर्याउनै पर्छ ।”
कार्यक्रममा सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले मानसिक स्वास्थ्य सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै हरेक व्यक्तिको मानिसक स्वास्थ्य अवस्थालाई ठीक राख्न सकरात्मक सोच, आत्मसम्मान, जीवनमा आईपर्ने कठिन परिस्थिति र परिवर्तनहरुसँग लचिलो भएर जुध्न सक्ने क्षमता बढाउने खालका क्रियाकलापमा जोड दिनुपर्ने सुझाउनुभयो ।
उहाँले व्यक्तिको लक्षण पहिचान गर्ने र मानसिक समस्या देखिएको अवस्थामा प्रोत्साहन, उर्जा, खुशी, आत्मसम्मान मिल्ने खालका व्यवहार गर्न सुझाउनुभयो । मानसिक समस्या देखापरेका व्यक्तिहरुको उपचार तथा उनीहरुमा सकरात्मक सोच ल्याउन आत्महत्या रोकथामसम्बन्धी राष्ट्रिय हटलाईन सेवा ११६६ प्रयोग गर्न लगाउनेबारे पनि जानकारी दिनुभयो । स्थानीय तह तथा विद्यालयहरुमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम फैलाउनुपर्ने भन्दै उहाँले सिएमसी नेपालले अब रुकुम (पश्चिम) सल्यान, दैलेख र सुर्खेतमा स्वास्थ्य शिक्षासँग सम्बन्धित कार्यक्रम गर्ने बताउनुभयो ।
त्यसैगरी, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका बरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले सुर्खेतमा देखिएको डेंगुरोग, नियन्त्रण तथा रोकथामका उपायबारे कार्यपत्रमार्फत जानकारी दिनुभयो । विशेषगरी वर्षाको समयमा यो निकै फैलिने भन्दै निरीक्षक बिसीले आफ्नो घरआगन सफा राख्न र पानी जम्न नदिन तथा डेंगु सार्ने लामखुट्टे खोजेर नष्ट गर्न अनुरोध गर्नुभयो ।



