
जुम्ला, १३ साउनः कर्णाली प्रदेशको पाँच मुख्यमन्त्रीमा नियुक्त मंगलबहादुर शाही कर्णाली प्रदेशको विकट मध्येको मुगु जिल्लाको साविक जिमा गाविस ९ सोरुकोट र हाल सोरु गाउँपालिका ६ स्थायी निवासी हुनुहुन्छ । विसं.२०२५ भदौ १६ गते आमा बिजुरा र पिता बिक्रमबहादुर शाहीका जेठा सुपुत्रका रुपमा जन्मनु भएका मुख्यमन्त्री शाही बाल्यकालमा कक्षा १–३ सम्म सोरुकोट प्राथमिक विद्यालय, कक्षा ३–७ जनज्योति निमावि नाथरपुर मुगु, ८ कक्षा मावि श्रीनगर हुम्ला, कक्षा ९ र १० जुम्ला अध्ययन गर्नुभएको थियो ।
विसं.२०४४ सालमा चन्दननाथ मावि जुम्लाबाट एसएलसी गरेपश्चात उहाँ नेपाल ल क्याम्पस काठमाडौंमा भर्ना हुनुभयो । क्याम्पसमा अध्ययन गर्ने क्रममा विसं.२०४५ सालमा उहाँले अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएको थियो । नेकपा मालेको राष्ट्रिय पाँचौ महाधिवेशनबाट राजनीति सुरु गर्नुभएका उहाँले ल क्याम्पसबाट २०४७ सालमा कानुनमा प्रवणीता गर्नुभयो ।
विसं.२०४५ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएका शाही २०५४ सालमा नेकपा एमालेको एरिया कमिटि सचिव हुनुभयो । विसं.२०५६ सालको आम निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर शाहीलाई जिताउने अभियानमा नेपाली काँग्रेस सँग झडप भयो । झडप हुँदा ज्यान मार्ने उद्योगको अभियोग लगाउँदा नौ दिन उहाँले हिरासतमा बस्नुपर्यो ।
विसं.२०५७ सालमा नेकपा माओवादीका नेता ( पछि जनसरकार प्रमुख) जुम्ला राँका गाउँ निवासी परानबहादुर धरालासँग तत्कालीन् व्यवस्थाबाट जनता माथि उठ्न नसक्ने विषयमा लामो समय छलफल भयो । उहाँकै प्रेरणा र सल्लाहबाट २०५८ सालमा तत्कालीन् नेकपा माओवादी पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा पूर्णकालीन हुनुभयो । २०५९–२०६४ सम्म जिल्ला पार्टी सचिवका रुपमा काम गर्नुभयो । त्यसयता नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ २०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित हुनु भयो । उहाँले यस अगाडि कर्णालीको भौतिक पुर्वाधार मन्त्रालय समालि सक्नु भएको छ ।
कानूनमा प्रवीणता प्रमाण पत्र तह गर्नुभएका शाही हाल मुगु जिल्ला पार्टी ईञ्जार्चका रुपमा काम गर्दै आउनुभएको छ । पत्नी नारायणदेवी शाहीसहित उनका दुई छोरा र एक छोरी छन् । शाही अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेकपा एमालेको समर्थनमा आज कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले अपरान्ह ५ः०० बजे दावी पेस गर्नुभएको थियो ।
दावी पेस गरिएपश्चात् बैठक बसेर छलफल गरी आजै प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएसँगै नेता शाही कर्णाली सरकारको पाँचौ मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएको हो ।





