१२ साउन २०८३, मंगलबार
सुर्खेत लेकबेसी नगरपालिका ५ र ६ सिमानामा पर्ने हलकण्डरा भन्ने स्थानमा स्थानमा जिप दुर्घटना हुँदा १२ यात्रु घाईते भएका छन् ।
आज बिहान १०ः ०० बजे हलकण्डरा डाँडागाउबाट दशरथपुरतर्फ जाँदै गरेको भे. १ ख ५४० नं. को यात्रुबाहक मुस्ताङ जिप उकालोमा आफै अनियन्त्रित भई सडकमा पल्टिदा जिपमा सवार १२ यात्रु घाईते भएको र त्यसमा चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
गम्भीर घाईते हुनेहरुमा लेकबेशी नगरपालिका ६ सुर्खेतका २२ वर्षीय सुष्मा कार्की, ७० वर्षीय अमृता कार्की, २६ वर्षीय तिल्सरा सिरिस र ७० वर्षीय खगिसरा विक रहेको उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक पोखेरेलका अनुसार छाती, ढाड र शरीरको भित्री अंगमा चोट लागेर गम्भीर अवस्था भएका चारै बिरामीलाई उपचारका लागि माया नर्सिङ होम सुर्खेतमा पठाइएको छ ।
त्यसैगरी, लेकबेशी नगरपालिका ४ सुर्खेतका ७ वर्षीय दर्शन बिक, २५ वर्षीय जुना सुनार, ३० वर्षीय उमा राना, २३ वर्षीय मिना परियारको अवस्था मध्यम रहेकोले उनीहरुलाई पनि माया नर्सिङ होम सुर्खेतमा उपचारका लागि पठाइएको छ । सामान्य घाईते २८ वर्षीय गीता सुनार, २७ वर्षीय दिलमाया बिक. २८ वर्षीय समीक्षा बिक. र गाडी चालक २३ वर्षीय दिपेश पुनको स्थानीय मेडिकल दशरथपुर सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।




