
६ साउन २०८३, बुधबार
सुर्खेतः नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारवाहीबाट रु.तीन करोड ४१ लाख राजश्व संकलन गरेको छ ।
नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत गत आव.०८२÷०८३ मा ट्राफिक नियम उलङ्घन गर्ने ३८ हजार ८८५ सवारी साधनलाई कारवाही गर्दा रु.तीन करोड ४१ लाख ९८ हजार ५०० राजश्व संकलन भएको बताउनुभयो ।
उहाँका अनुसार आव.०८१÷०८२ मा ४९ हजार ९६४ सवारी कारवाही गरी रु.तीन करोड ६७ लाख ४३ हजार राजश्व असुली गरिएको थियो । उहाँले भन्नुभयो, “आव.०८१÷०८२ को तुलनामा आव.०८२÷०८३ मा सवारी कारवाही २३ प्रतिशत र राजश्व संकलन २० प्रतिशतले कमी आएको छ । यसरी कारवाही संख्या र राजश्व संकलन घट्नु भनेको ट्राफिक नियम पालना हुनु हो । हामी राजश्व संकलन गर्ने होइन, सकेसम्म नियमको पालना र सवारी दुर्घटनामा कमी ल्याउने हो ।”
प्रहरी उपरीक्षक रिजालले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार कर्णालीमा एक दिनमा सरदर १०१ सवारी साधन दर्ता हुन्छन् । ३ दशमलव २७ प्रतिशत सवारी दुर्घटना हुन्छ । ६ दशमलव ३ घाईते हुँदा शून्य दशमलव ३६ को मृत्यु हुने गर्छ । सबै जिल्लाको सवारी दुर्घटनाबारे अध्ययन गर्दा सुर्खेतमा सबैभन्दा बढी ६९० र मुगुमा सबैभन्दा कम १७ सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा छ ।
उहाँले एक हजार ३८४ दशमलव ४२ किलोमिटर पक्की, एक हजार १९४ दशमलव ६५ किलोमिटर ग्राभेल, सात हजार १०८ किलोमिटर कच्ची गरी कर्णाली जम्मा नौ हजार ६८७ दशमलव ६२ किलोमिटर सडक रहेको बताउनुभयो । १६ लाख ९४ हजार ८८९ जनसंख्याका लागि ट्राफिक प्रहरी अनुपात ७८ दशमलव ८३ जना छ भने एकजना प्रहरीले ४५ किलोमिटर हेर्नुपर्दछ । हाल प्रदेशभर २१५ ट्राफिक प्रहरी रहेको उहाँले जनाउनुभयो ।
कर्णालीमा २६ देखि ४० वर्ष उमेर समुहका विशेषगरी दुई पाङ्ग्रे ६२ प्रतिशत सवारी साधन तीव्र गतिका कारण दिउसो १२ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । उहाँका अनुसार गत आव. ०८२÷०८३ मा ट्राफिक नियम पालना सम्बन्धी आठ हजार २७८ पटक सचेतनामूलक कार्यक्रम गर्दा कर्णाली प्रदेशभर पाँच लाख ६९ हजार २०६ नागरिकहरु लाभान्वित भएका छन् ।




