OnlinePana

आज : २०८३ जेठ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २९, २०८३काठमाडौं
१० पटक

२९ जेठ २०८३, शुक्रबार
सुर्खेतः वीरेन्द्रनगरमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा मधेश प्रदेश प्रवेश गरेको छ । प्रतियोगितका कुल छ खेल मध्ये यसले पाँच खेल जितेर महत्वपूर्ण १० अंक जोड्दै एक खेल अगावै फाइनल प्रवेश गरेको हो ।

आज वीरेन्द्रनगर क्रिकेट मैदानमा भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले निर्धारित ओभरमा तीन विकेट गुमाएर १६१ रनको बलियो योगफल खडा गरेको थियो । १६२ को लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा चार विकेट गुमाउँदै १३७ मा सीमित भयो ।

पहिले ब्याटिङ गरेको मधेशका लागि ‘प्लेयर अफ दि म्याच’ प्रतिमा साह र ओपनर सना प्रवीनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । ओपनर एलिशा यादव पाँच रनमा आउट भएपछि क्रिजमा आएकी प्रतिमाले मात्र ४७ बलमा ३ चौका र ५ छक्काको मद्दतले अविजित ६८ रनको इनिङ्स खेल्नुभयो । त्यस्तै, सना प्रवीनले ५७ बलमा १० चौका प्रहार गर्दै ६२ रनको योगदान दिनुभयो ।

लुम्बिनीका लागि बलिङतर्फ आशना चौधरी र आयुषा भुसालले समान १–१ विकेट लिनुभयो । लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर सुप्रिया बुढा मगरले ५३ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनमा अविजित रहनुभयो । कप्तान अञ्जली पाठकले १८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै तीव्र गतिमा ३२ रन जोड्नुभयो । चौथो नम्बरमा आएकी युनिशा सारु मगरले १४ र रितु रावलले अविजित १५ रन बनानुभयो । मधेसका लागि साक्षी कुमारी यादव, सुस्मिता कुमारी यादव, आरती महतो र प्रतिमा साहले समान १–१ विकेट लिए ।

अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशमाथि रोमाञ्चक जित दर्ता ग¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले कमजोर ब्याटिङका बावजुद रञ्जना साउदको उत्कृष्ट बलिङको मद्दतमा गण्डकीलाई रोक्दै महत्वपूर्ण जित निकालेको हो । ८८ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेश निर्धारित २० ओभरमा पराजित भयो । कोशीका लागि पूर्णिया राजवंशीले ३६ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक २७ रन बनाउनुभयो ।

कप्तान टीका शाहले १९ बलमा १५ रन जोड्नुभयो । गण्डकीका बलरहरुले बलिङ गर्दै कोशीलाई सस्तैमा समेट्न मुख्य भूमिका खेलेका थिए । जवाफी ब्याटिङमा उत्रिएको गण्डकीका कप्तान कुसुम गोदारले इनिङ्स खेल्दै ४३ बलमा ५ चौका प्रहार गरी अविजित ४२ रन बनाउनुभयो । यस्तै, चन्द्रमाया बरालले ३७ बलमा १७ रन जोड्दै गर्दा टोलीका अन्य ब्याटरहरु आउट र ३ जना ब्याटरहरु रन आउट भए ।

कोशीको जीतको मुख्य नायक बलर रञ्जना साउदले बलिङ गर्दै गण्डकीका मुख्य ब्याटरहरुलाई पेभिलियनको बाटो देखाइदिनुभयो । रञ्जनाले कप्तान टीका शाहको क्याचमार्फत कुसुम गोदारलाई सघाउनुका साथै पूर्णिया राजवंशी र खुसीकुमार राजवंशीलाई आफ्नै बलमा क्याच आउट गराउनुभयो । उहाँले दीपशिखा भुजेललाई बोल्ड र कृतिका धामीलाई एलबीडब्लू धरापमा पार्दै उत्कृष्ट प्रदर्शन गर्नुभयो । कोशीका रञ्जना साउद ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो ।

खेलमा घरेलु टोली कर्णाली बागमतीका अगाडि कमजोर बन्यो । लगातार पाँचौं खेलमा पराजित भएको कर्णालीविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा १३० रनको सम्मानजनक योगफल खडा गरेको थियो । १३१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश बागमतीका बलर कृष्मा गुरुङको घातक बलिङसामु निरीह बन्नपर्यो । पहिले ब्याटिङ गरेको बागमतीका लागि मध्यक्रमकी ब्याटर लक्ष्मीमाया रुम्बा लामाले उत्कृष्ट इनिङ्स खेल्दै ४३ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ४७ रन जोड्नुभएको थियो ।

यस्तै, विकेटकिपर प्रथा श्रेष्ठले ३३ बलमा ३ चौका प्रहार गर्दै ३० रन बनाउँदा छैटौँ नम्बरकी कृष्मा गुरुङले १५ बलमा अविजित १५ रन जोड्नुभयो । बलिङतर्फ कर्णालीका सोनिसा चन्द, पास्ना योञ्जन र सोबिका शाहीले १–१ विकेट लिए । १३१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशको सुरुवात निकै खराब रह्यो । टोलीका लागि कप्तान तिर्सना विश्वकर्माले एक्लै ४६ बलमा ७ चौका प्रहार गरी ४३ रनको इनिङ्स खेल्नुभयो ।

ओपनर सोबिका शाहीले ९ रन जोड्दा टोलीका चार जना ब्याटरहरु शून्य (डक) रनमा आउट भए । कर्णालीको इनिङ्सलाई कमजोर पार्ने बागमतीकी कृष्मा गुरुङ एक्लैले ५ विकेट लिँदै सोबिका शाही, उमा चौधरी, पास्ना योञ्जन, अन्जिला थापा र समिक्षा बिसीलाई पेभिलियनको बाटो देखाइदिनुभयो । यस्तै दिपिकाकुमारी बोहराले दुई तथा पूजा साउद र सम्भाव्या ढकालले १–१ विकेट लिए । अलराउन्ड प्रदर्शन गर्दै अविजित १५ रन र घातक ५ विकेट लिएकी बागमतीकी कृष्मा गुरुङ खेलको ’प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो ।

प्रतिकृया दिनुहोस्