OnlinePana

आज : २०८२ आषाढ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १५, २०८२
११ पटक

१५ असार २०८२, आईतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताउनुभएको छ ।

कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘२२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली कृषि उत्पादनको संभाव्य भूमि भएको बताउनुभयो । यहाँको भौगोलिक अवस्थाले पनि विशिष्ट कृषि उत्पादनको सम्भावना बोकेकोले त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने उहाँको भनाई थियो ।

कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र रोजगारीको स्थायी स्रोतका रुपमा यसलाई विकास गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ । खेतीपातीलाई अब जीविकोपार्जनको भर होइन, व्यवसायको मुख्य माध्यम बनाउँदै लैजानुपर्छ ।”

उहाँले कृषक पञ्जिकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो । रोपाई महोत्सवमा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिक, संघ÷संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्