

१५ असार २०८२, आईतबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताउनुभएको छ ।
कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘२२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली कृषि उत्पादनको संभाव्य भूमि भएको बताउनुभयो । यहाँको भौगोलिक अवस्थाले पनि विशिष्ट कृषि उत्पादनको सम्भावना बोकेकोले त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने उहाँको भनाई थियो ।
कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र रोजगारीको स्थायी स्रोतका रुपमा यसलाई विकास गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ । खेतीपातीलाई अब जीविकोपार्जनको भर होइन, व्यवसायको मुख्य माध्यम बनाउँदै लैजानुपर्छ ।”
उहाँले कृषक पञ्जिकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो । रोपाई महोत्सवमा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिक, संघ÷संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।