OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १४, २०८२
२०९ पटक

१४ असार २०८२, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मान्छेको दैनिक जीवनमा प्रयोगमा आउने बहुपयोगी बिरुवा रोप्नुपर्ने बताउनुभएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत वृक्षारोपण सप्ताह कार्यक्रममा बोल्दै वृक्षारोपण वातावरण संरक्षणका लागि मात्र नभई मानव उपयोगका हिसाबलेसमेत लाभदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो, बिरुवा देखाउनलाई होइन, हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउन सक्ने, फल दिने र आर्थिक लाभसमेत दिने किसिमका बिरुवा रोपौं ।

वृक्षारोपणलाई अभियानका रुपमा लैजानुपर्नेमा जोड दिँदै उहाँले धेरैजसो ठाउँमा एकपटक बिरुवा रोपेर त्यसको संरक्षणमा ध्यान नदिने परम्पराको अन्त्य हुनुपर्ने जनाउनुभयो । आयोजकले रोपण मात्र होइन, रेखदेख र संरक्षणमा पनि ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो । वन विनास, भूक्षय, सुख्खा, असिनापानी जस्ता प्राकृतिक समस्याहरु वृक्षारोपणबाट नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तिकरण, पर्यावरणमैत्री खेती र हरियाली विस्तार कार्यलाई प्राथमिकतामा राखी स्थानीय तहहरुसँग सहकार्य गरेर वृक्षारोपण र वातावरण संरक्षणमा दीर्घकालीन योजनाहरु लागू गर्ने नीति लिएको उहाँले बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षा निकाय, सामाजिक अभियन्ता र सर्वसाधारणको सहभािगता रहेको थियो ।

प्रतिकृया दिनुहोस्