OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १८, २०८०काठमाडौं
१४० पटक

१८ कार्तिक २०८०, शनिबार

गए राति जाजरकोटको रामीडाँडा नजिक केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज बिहान ८ः३० बजेतिर जाजरकोट पुग्नुभएको हो । जाजरकोट पुग्नुभएका उहाँले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पको क्षतिको विवरण लिनुभएको छ । सुरुमा जाजरकोटको खलंगाको प्रभावित क्षेत्रको वस्तुस्थिति बुझिसकेपछि अहिले प्रधानमन्त्री प्रजिअ सुनारसहित सबैभन्दा बढी क्षतिग्रस्तस्थल नलगाड नगरपालिकामा पुग्नुभएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारलाई तीव्र बनाउन तथा यसका लागि कुनै कसर बाँकी नराख्न प्रजिअ सुनारसहित सुरक्षा संयन्त्रको टोलीलाई निर्देशन दिनुभएको छ । क्षतिको पूर्ण विवरण नआईसकेकोले प्रारम्भिक क्षतिको विवरणबारे प्रजिअले प्रधानमन्त्रीलाई जानकारी गराउने काम भएको सूचना अधिकारी शर्माले राससलाई जानकारी दिनुभयो ।
भूकम्पको केन्द्रबिन्दु मानिएको बारेकोट गाउँपालिकासँगको सूचना सम्पर्क राम्रो नहुँदा घरहरु भत्केको छ भन्ने जानकारी भएपनि सत्य तथ्य कुरा आउन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त गाउँपालिकाको क्षतिबारे जानकारी लिन सूचना सम्पर्क जोड्ने प्रयास भइरहेको छ ।

सूचना अधिकारी शर्माले प्रधानमन्त्रीको साथमा उर्जामन्त्री शक्तिबहादुर बस्नेत र पूर्वगृहमन्त्री जनार्दन शर्मासहित स्वास्थ्यकर्मीहरुको टोली घटनास्थलमा पुगेको बताउनुभयो । जाजरकोट क्षतिग्रस्त क्षेत्रको अध्ययनपश्चात् प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिमको भूकम्पबाट भएको क्षति र त्यसको प्रभावका बारेमा बुझ्न जाने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्