OnlinePana

आज : २०८१ पौष ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, माघ ८, २०७९ जुम्ला
५४७ पटक

माघ ८ गते । सिंजाको नराकोट स्वास्थ्य चौकीमा धमाधम स्वास्थ्य सेवा विस्तार हुन थालेका छन् ।
सदरमुकामबाट एकदिन टाढा सिंजा क्षेत्रमा पहिलो पटक स्थानीय सरकारको सहयोगमा स्वास्थ्य चौकीले प्रयोगशाला तथा अल्ट्रा साउण्ड सेवा शुरु गरेको छ ।

सिंजा गाउँपालिकाका स्वास्थ्य संयोजक ललित रोकायाका अनुसार गाउँपालिकाको सहयोगले एक महिना अघिबाट प्रयोगशाला शुरु गरि सेवा दिईरहेका छौ, उहाँले भन्नुभयो, सामान्य रगतको परीक्षण गर्न पनि सदरमुकाम जाने वाध्यता रहेको थियो, अव त्यसको अन्त्य भएको छ ।
उहाँका अनुसार सिंजा गाउँपालिकाको सहयोगमा प्रयोगशालाका सामानहरु र जनशक्ति थपिएपछि प्रयोगशाला सेवा सुचारु गरिएको छ । अहिले नराकोट स्वास्थ्यचौकीबाट करिब एक, डेड सय सेवाग्राहीहरुले सेवा लिईसकेका छन् ।

गाउँपालिकाको रु चार लाख सहयोगमा प्रयोगशालाका सामग्री खरिद गर्ने गरिएको छ । यसैगरी गाउँपालिकाले एक जना ल्याव असिष्टेन्ट र एक प्राविधिक जनशक्ति समेत व्यवस्थापन गरिदिएको छ । प्रयोगशाला स्थापना पछि एनसि प्याकेज, रगत परीक्षण, एचआईभी परीक्षण, क्षयरोग परीक्षण सहित विभिन्न सेवाहरु सेवाग्राहीले पाईरहेका छन् ।

अल्ट्रासाउण्ड सेवा :
यसैगरी स्वास्थ्यचौकीले अल्ट्रासाउण्ड सेवा पनि सुचारु गरेको छ । गाउँपालिकाको सहयोगमा सामग्री खरिद गरि सो सेवा सुचारु नराकोट स्वास्थ्यचौकीमा शुरु गरिएको सिनियर अहेव लंकराज धितालले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी गर्भवति अवस्थामा बच्चाको अवस्था कस्तो छ भन्ने जाँच यस सेवाले सहज भएकामा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सामान्य प्रयोगशालामा परीक्षण हुने बिषय अव स्वास्थ्यचौकीमा हुने आशा गरिएको बताउनुभयो । उहाँले सिंजा क्षेत्रकै मुटुमा रहेको नराकोट स्वास्थ्य चौकीले कार्यक्रम माग गरेपछि निति तथा कार्यक्रममा समेटिए अनुसार प्रयोगशाला र अल्ट्रा साउण्ड सेवा शुरु भएको बताउनुभयो । स्वास्थ्य चौकीले सामग्री र जनशक्ति व्यवस्थापन पछि गाउँपालिका अध्यक्ष धिताल र उपाध्यक्ष सितली रोकायाबाट सेवा उद्घाटन गरिएको छ ।

पछिल्लो समय स्वास्थ्य सस्था सुधारका काममा प्रथामिकता दिईएको छ । स्वास्थ्य संयोजक रोकायाले अव स्वास्थ्यचौकीलाई भवन अभाव भईरहेकोले स्थानीय सरकारले माथिल्लो क्षेत्रमा पहल गरिएको बताईएको छ ।

यसैगरी स्वास्थ्यचौकीमा खोपकेन्द्र पनि प्रभावकारी रुपमा संचालन भईरहेको छ । सहायक कोल्डचेनको रुपमा स्थापित खोपकेन्द्र भएकाले खोप सुरक्षित रुपमा राख्न तथा कहिले काँही जिल्लाबाट खोप नपुग्दा पनि काम चलाउने हुने भएको स्वास्थ्य चौकीले बताएको छ । अस्पतालमा अल्ट्रासाउण्ड सेवा शुरु भएपनि सेवा ग्राही पनि खुशी भएका छन् । गर्भवति पवित्रा अधिकारीले आफुले गाउँकै स्वास्थ्यचौकीमा सेवा पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँ जस्तै सेवाग्राहीहरु जाँच गरेर अहिले स्वास्थ्यकर्मीलाई धन्यवाद दिएर घर फर्किन्छन् ।

प्रतिकृया दिनुहोस्