१९ फागुन २०७८, बिहीबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रा.लि.को समुद्घाटन गर्नुभएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको इण्डस्ट्रिजको समुद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नीजि क्षेत्रको लगानीमा शुरु भएको उद्योगले कर्णालीको आर्थिक समृद्धिमा सघाउ पुग्ने बताउनुभयो । उहाँले इण्डस्ट्रिज स्थापनाले कर्णालीमा रोजगारीका अवसर सृजना हुने जनाउनुभयो ।
“कर्णाली प्रदेशको आर्थिक समृद्धिको आयाम उद्योग व्यवसाय सञ्चालनका लागि प्रदेश सरकारले लगानीमैत्री नीति तर्जुमा गर्न लागेको छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “प्रदेश सरकारको सहयोगीका रुपमा स्थापना भएको सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रा.लि. वीरेन्द्रनगरलाई प्रगतिको शुभकामना छ ।”
नीजि क्षेत्रद्वारा स्थापित आर्थिक वृद्धिको मेरुदण्डका रुपमा मानिएको यस इण्डष्ट्रिजबाट दैनिक नौ हजार ६०० ग्याविन एवं दुईहजार घेराबार जाली उत्पादन हुने र गुणस्तरीय निर्माण सामाग्रीको सहज र सुलभ दरमा उपलब्ध हुने बताइएको छ । प्रदेश सरकारले इण्डष्ट्रिजको विकासका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।