
१४ असार २०८३, आईतबार
सुर्खेतः पश्चिम नेपालको कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ मा अवस्थित काक्रेविहारको इतिहाँस, संस्कृति र पुरातत्वको बहुआयमिक विमर्श भएको छ ।
मान्नमी रिसर्च एण्ड पब्लिेकेसन प्रा.लि.को संयोजन तथा व्यवस्थापनमा वीरेन्द्रनगर नगरपालिका ९ नं.वडा कार्यालयद्वारा आज यहाँ आयोजित ‘काक्रेविहार पर्यटन प्रवद्र्धन महोत्सव २०८३’ कार्यक्रममा काक्रेविहारको साँस्कृतिक तथा पुरातात्विक इतिहास र महत्वको विषयमा यससम्बन्धी जानकार, अध्येता तथा विज्ञसँग विमर्श गरिएको हो ।

मध्यपश्चिम विश्वविद्यालयका अंग्रेजी तथा नेपाली विभाग प्रमुख डा.रेशम विष्टको सहजीकरणमा त्रिविको सेवा निवृत प्राध्यापक डा.जीवेन्द्रदेव गिरी, त्रिविका बौद्ध अध्ययन केन्द्रीय विभाग प्रमुख डा.चन्द्रकला घिमिरे र अध्येता तथा नेपाल सरकारका पूर्व वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंबीच बिमर्श भएको थियो ।
उक्त विमर्शको क्रममा हिन्दु तथा बौधमार्गी दुवैको विश्वास, पहिचान र आस्थाको धरोहर मानिने महत्वपूर्ण मध्यकालीन सम्पदा काक्रेविहारको साँस्कृतिक, पुरातात्विक इतिहासका सिंजा खस साम्राज्यको करिब १२औं÷१३औं शताब्दीतिर क्राचल्ल, अशोक चल्लको पालादेखि बनेको उल्लेख अध्येता चौलागाईले गर्नुभयो । उहाँको अनुसार काक्रेबिहारको पुरातात्विक अध्ययन निकै कम रुपमा भएको छ ।
प्राडा.जीवेन्द्रदेव गिरीले काक्रेबिहारको साँस्कृतिक सन्दर्भमा विभिन्न श्रुतिहरु भएपनि त्यसको आधिकारिक प्रमाण नभेटिएको यद्यपि यो लोक साहित्यको एक भण्डार भएको बताउनुभयो । विभिन्न संस्कृतिलाई एउटमै बाँध्ने शिव संस्कृति भएको बताउँदै उहाँले बौध विहार मानिने काक्रेविहारमा हिन्दु र बौधमार्गी दुवैको समान आस्था रहेको जनाउनुभयो ।
डा.नवराज केसीले काक्रेबिहारलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ससाना कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । यसलाई विहार तथा ध्यान केन्द्रका रुपमा विकास गर्न सोच, व्यवहार र सकरात्मकता आवश्यक भएको उहाँको भनाई थियो ।
अधिवक्ता ध्रुवकुमार श्रेष्ठले काक्रेविहारको पर्यटन प्रवद्र्धन गर्न र यसलाई विश्वमा चिनाउन सबै सरोकारवालाहरुको भूमिका आवश्यक भएको बताउनुभयो ।







