
३ असार २०८३, बुधबार
जुम्लाः छोरी सञ्जाल जुम्लाको अध्यक्षमा सुस्मा हमाल चयन हुनुभएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको विशेष आथित्यमा आज बसेको बैठकले हमाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अध्यक्ष हमाल तिला गाउँपालिका ४ जुम्ला स्थायी निवासी हुनुहुन्छ । नौ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा चन्दननाथ ७ मिचाका करुणा सार्की, सचिवमा कनकासुन्दरी २ बोताकी स्मृति रावत, कोषाध्यक्षमा गुठीचौर ५ देपालगााउँकी मंगला भट्ट र सहसचिवमा तातोपानी १ राँका गाउँकी मञ्जु सार्की चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा तिला ५ ढिमकोटकी मेनिका शाही, तातोपानी १ राँकागाँउकी लक्ष्मी सार्की, चन्दननाथ १ कुलालबाडाकी रितु कुलाल र कनकासुन्दरी गाउँपालिका १ बुम्रमाडीचौरकी आस्था भण्डारी रहेको अध्यक्ष हमालले बताउनुभयो ।
गठित समितिको पहिलो बैठकले जिल्ला भित्रका छोरीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न स्थानीय तहसँग सहकार्य एवं समन्वय गर्दै बालबिबाह, लैंगिक हिंसा तथा अन्य विभेदविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने उद्देश्य अगाडि बढाएको छ । बैठकले वार्षिक ३ देखि छ महिनाको अन्तरालमा बैठक गर्ने निर्णयसमेत गरेको छ ।
नव गठित जिल्ला छोरी सञ्जाललाई बधाई तथा शुभकामना दिँदै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले छोरीहरुको प्रगति र सफलतासँग सिंगो समाज र राष्ट्रको उन्नति हुने बताउनुभयो । सञ्जालले समाजको विकृति र दुर्गतिसँग जोडिएको बालबिबाह, लैंगिक तथा सामाजिक विभेद अन्त्यका लागि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त बैठकमा उपप्रमुख जनक थकाली, जिल्ला समन्वय अधिकारी रोमबहादुर महतसहितको उपस्थिति रहेको थियो ।








