OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०७८ सुर्खेत
२६५ पटक

 ४ भाद्र २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयता बलियो भएमात्र शहीदहरुको सपना पुरा हुने बताउनुभएको छ ।

‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी दाजुभाई तथा दिदीबहिनीहरुमा आज एक शुभकामनामार्फत हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा शाहदत प्राप्त गर्ने यहाँका चार शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताउनुभयो ।

“संघीय व्यवस्था स्थापनाका लागि दशकौंदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण संघर्षहरुको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि बलिदानीपूर्ण संघर्ष गरे । संघीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोध एवं कर्णाली प्रदेशवासीको छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित दुईसाता चलेको जनआन्दोलन र चारजना बीर शहीदहरुको बलिदानपश्चात् कर्णाली प्रदेश स्थापना भएको थियो ।”

साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारले आजकै दिन बीरगति प्राप्त गरेका थिए ।

प्रदेश प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रहेर लड्दै गर्दा सहादत प्राप्त गर्ने महान शहीदहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले आन्दोलनमा घाइते भएका योद्धाहरुप्रति उच्च सम्मानसहित स्वास्थ्यलाभको कामना गर्नुका साथै आन्दोलनमा सरिक आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । जारी शुभकामना सन्देशमार्फत मुख्यमन्त्री शाहीले संघीयता विरोधी षडयन्त्रकाविरुद्ध निरन्तर खबरदारी गर्न सबैमा हार्दिक अपिल गर्नुभएको छ ।

उहाँका अनुसार ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को ऐतिहासिक दिनलाई भव्यरुपमा मनाउने सोच भएपनि कोरोना महामारीको संकटले औपचारिक कार्यक्रम गर्ने अवस्था रहेन यद्यपि दिवसको अवसरमा प्रदेश सरकारले आज कर्णाली प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

कर्णाली प्रदेशको विकास र समृद्धिको लागि प्रदेश सरकारले अगाडि सारेको “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी“को अभियानमा एकतावद्ध भई अगाडि बढ्न समस्त कर्णालीवासीहरुमा प्रदेश स्थापना दिवस तथा सहिद दिवस‑२०७८ ले थप प्रेरणा दिने विश्वास रहेको उहाँले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्