OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३२, २०७८सुर्खेत
१०७८ पटक

३२ साउन २०७८, सोमबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजिपी) गणेशबहादुर ऐरले पछिल्लो समयमा सामाजिक अपराधका घटना बढ्नुमा कर्णालीको ठूलो समस्या लागु औषध र मदिरा भएको बताउनुभएको छ ।

भारतसँग सिमा नजोडिए पनि कर्णालीमा लागुऔषध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाउनुभयो । यो दूर्व्यसनीले यहाँको सामाजिक, साँस्कृतिक तथा आर्थिक विकासमा ठूलो असर पारेको बताउँदै उहाँले लागुऔषध ओसारपसार, कारोबार तथा प्रयोगको नियन्त्रण एवं न्यूनिकरणमा विशेष जोड दिने योजनाका साथ अघि बढिएको बताउनुभयो ।

“कर्णाली नेपालकै ठूलो भू–भाग ओगटेको प्रदेश हो यद्यपि प्रदेशको आवश्यकता अनुसार यहाँ प्रहरी जनशक्तिको अभाव छ,” प्रहरी नायब महानिरीक्षक ऐरले भन्नुभयो, “सानो एकाईमा प्रहरी उपलब्ध भएपनि यहाँका नागरिकहरुले बास, जग्गालगायतका विभिन्न क्षेत्रमा सहयोग गरेर प्रहरीमैत्री व्यवहार देखाएको पाएको छु । कर्णालीवासीप्रति कृतज्ञता प्रकट गर्दछु ।”

त्यस्तै, मदिरा र गाँजाले पनि सामाजिक अपराध बढाएको उहाँले बताउनुभयो । लागुऔषध तथा मदिराले समाजमा पार्ने प्रभावका विषयमा कोरोना महामारीले नागरिकसमक्ष जाने वातावरण नभएपनि पर्चा, पुस्तिका र विभिन्न सञ्चारका सामग्रीको माध्यमबाट सचेतनामूलक कार्यक्रम अगाडि बढाईने उहाँको भनाई थियो ।

परम्परागत कुप्रथा र पुरातनवादी सोच परिवर्तनका लागि प्रहरी एक्लैले केही गर्न नसक्ने जनाउनुभएका प्रहरी नायब महानिरीक्षक ऐरले भन्नुभयो, “समाज परिवर्तनका लागि पहिलो म आफ्नै प्रहरीलाई अनुशासित बनाउँछु । जनतालाई मालिक बनाएर प्रहरी जनताको सेवक हो भन्ने अनुभूति दिलाउने गरी काम गर्छौ ।” यसमा राजनीतिक दल, अधिकारवादी, नागरिक समाजलगायतका सरोकारवालाहरुले आ–आफ्नो तहबाट जतिसक्दो सहयोग पुर्याउन उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्