OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०७८काठमाडौं
८४४ पटक

७ साउन २०७८, बिहीबार

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको २८ असारको फैसलासँगै नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पद गुमाउनुपर्‍यो । ३० असारमा दलबलसहित बालुवाटारबाट बालकोट फर्किएका ओली बार्दलीमा बसेर आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि खनिए ।

उनले नेता नेपाललाई नेपाली कम्युनिष्ट आन्दोलनकै गद्दार घोषणा गरे । नेता नेपाललाई लाज सरम नभएको व्यक्ति भनेपछि ओलीका समर्थकहरुले गद्दार भन्दै नाराबाजी गरेका थिए । केहीबेरमा ओलीले पनि त्यही शब्द प्रयोग गरे ।

उनलाई पछ्याउँदै ओली समूहका अरु नेताहरुले पनि नेपाल र उनको समूहका नेताहरुमाथि यही आरोप लगाएका छन् । स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्तरपार्टी संघर्षमा गुप्त रुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तर्घात हो भने खुलेआम त्यसो गर्नु र गराउनु गद्दारी हो ।’

नेता नेपालप्रति आक्रामक अभिव्यक्ति दिएका ओली बिहीबार भने नरम देखिएका छन् । उनले भनेका छन्, ‘हामी को कहाँ छौं, त्यो कुरा छाडिदिउँ । देश र जनताको कुरा गरौं, अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं ।’

बुधबार केन्द्रीय कमिटी बैठकमा ओलीले अझ अगाडि बढेर भने, ‘माधव नेपालले गरेको गद्दारी गिनिजबुकमै लेखिनेछ ।’ उनले माधव नेपाललाई माउसुलीको पुच्छर र ऐंजेरुको संज्ञा दिन पनि पछि परेनन् । ‘समयमै पलाएको ऐंजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी हो’ उनले अघि भने, ‘माउसुलीले कहिलेकाहीं पुच्छर फालिदिन्छ । त्यसकारण ऊ आत्तिंदैन, किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले पुच्छर फाल्नु परे पनि तयार हुनुपर्ने बेला आएको छ ।’

आफ्नो नेतृत्वको सरकार ढाल्न अगुवाइ गरेकाले नेता नेपाल गद्दार भएको ओलीको तर्क छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ असारमा संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्रीमा दाबी गर्दा माधव नेपालसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए । देउवा प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाँदा पनि नेपालसहित एमालेका २३ सांसदले हस्ताक्षर गरे, जुन संसद पुनर्स्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतको २८ असारको फैसलाको मुख्य आधार बन्यो ।

३ साउनमा नेपालसहित २२ सांसदले देउवालाई विश्वासको मत पनि दिए, जसले प्रतिनिधिसभाले सरकार दिन सक्दैन भन्ने ओलीको दाबीलाई समेत खण्डित गरेको छ । यही आक्रोशमा ओलीले नेता नेपाललाई गद्दार घोषणा गरेका हुन् । उनको समूहले अहिले पनि नेपाल समूहको गतिविधि अक्षम्य अपराध मान्छन् ।

तर नेपाल समूहका नेताहरु भने यहाँसम्म पुग्नुमा अध्यक्ष ओलीलाई नै दोषी मान्छन् । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २ जेठ २०७५ मा कमिटीमा फर्किनुको साटो ओलीले २८ फागुन यता एकपक्षीय बैठकहरु गर्दै पार्टी विधान उल्लंघन गरेको नेपाल समूहको विश्लेषण छ ।

संविधानको भावना र लोकतान्त्रिक मान्यता विपरीत एउटै व्यक्ति विभिन्न अवस्थामा समेत सत्तामा रहिरहने प्रवृत्तिको विरोध गर्दै २७ वैशाखमा ओलीले विश्वासको मत माग्दा संसदमा अनुपस्थित भएको यो समूहको तर्क छ । देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नु र विश्वासको मत दिनुलाई चाहिं यो समूहले संसद जोगाउन चालेको कदम भनेको छ ।

‘माधव नेपाल प्रधानमन्त्री बन्न वा सरकारमा जान फ्लोर क्रस गरेका होइनन् । ७६९५० अनुसार दलको ह्वीप लाग्दैन भनेर अदालतले व्याख्या गरिसकेको छ’ नेपाल समूहका एक नेता भन्छन्, ‘दलीय ह्वीपअनुसार पटकपटक प्रयास गर्दा पनि निकास ननिस्किएपछि हरेक सांसदलाई स्वतन्त्र निर्णय गर्न दिएर निकास निकाल्न उक्त धाराको व्यवस्था गरिएको अर्थमा सर्वोच्चले व्याख्या गरिसकेको छ ।’

ओली समूह बाहेक अन्यले पनि नेपाल समूहको कदमलाई सही भनेका छन् । ‘दल वा गुटको निष्ठाभन्दा संविधान, लोकतन्त्र, राष्ट्र र जनताप्रतिको निष्ठा ठूलो कुरा हो’ जसपा नेता डम्बर खतिवडा भन्छन्, ‘जतिबेलासम्म संविधान, लोकतन्त्र, राष्ट्र र जनताप्रतिको निष्ठामा खलल पुग्दैन, त्यो दलको निष्ठामा बस्नुपर्छ ।’

दलभन्दा ठूला संस्थाहरू लोकतन्त्र, संविधानवाद, राष्ट्र र जनता विषयमा कुनै पनि दलले हानि पुर्‍याउँछ भने त्यो दलको निष्ठामा बस्न जरुरी नहुने उनको तर्क छ । ‘यहाँनेर हरेक नेतासँग विद्रोहको अधिकार हुन्छ । नेता नेपालले यही बाटो रोजे’, उनले भने ।

‘पैसामा बिक्नु, दक्षिणपन्थलाई साथ दिनु, संविधानलाई हानि पुर्‍याउनु, ह्वीप लाग्ने अवस्थामा क्रस गर्ने कामलाई सामान्यतः संसदीय अनुशासनको उल्लंघन र अराजकता हुन्छ’ खतिवडा भन्छन्, ‘दलभन्दा ठूला संस्थाहरूको पक्षमा उभिनु गद्दारी नभएर विद्रोहको अधिकार हो, झन् प्रगतिशील काम हो ।’

नेकपा मसालका महासचिव मोहनविक्रम सिंह पनि ओलीको व्यक्तिवादी, स्वेच्छाचारी र अधिनायकवादी चरित्रको कार्यशैलीविरुद्ध नेता नेपालले संघर्ष गरेको मान्छन् । नेपालको अडानले प्रतिगमनविरुद्धको संघर्षमा ओलीलाई पराजित गर्न मद्दत मिलेको भन्दै उनले भने, ‘जतिसुकै अप्ठ्याराहरु आए पनि उहाँ प्रतिगमनविरुद्ध सतिसाल जस्तै अडिग रहनुभयो । गठबन्धनलाई साथ दिइरहनुभयो ।’

आममाफीको घोषणा

नेता नेपालप्रति आक्रामक अभिव्यक्ति दिएका ओली बिहीबार भने नरम देखिएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एक घण्टा लामो भाषण गरेका उनले नेता नेपालको नाम लिएर कुनै टिप्पणी गरेनन् ।

बरु बाटो बिराएका भड्किएका नेताहरु भन्दै आममाफी दिने घोषणा गरेका छन् । ‘हामी को कहाँ छौं, त्यो कुरा छाडिदिउँ । देश र जनताको कुरा गरौं’ उनले अगाडि भनेका छन्, ‘अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं ।’

लगत्तै बसेको केन्द्रीय कमिटी बैठकमा पनि अध्यक्ष ओलीले पार्टीको एकता सुदृढ गर्ने गरी आउन चाहे विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताएका छन् । बैठकले पनि स्पष्टीकरण सोधिएका नेता नेपालसहित २२ सांसदबारे केही निर्णय गरेन । बरु पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने र अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन् ।

हतारमा गाली, फुर्सदमा पश्चाताप

हतारमा गाली गर्ने र फुर्सदमा पश्चाताप गर्ने कम्युनिष्ट परम्परा नयाँ भने होइन । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यस्ता सयौं उदाहरण पाइन्छन् । नेपाली कम्युनिष्ट आन्दोलनमा पनि यस्ता दर्जनौं उदाहरण छन् । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कुनै बेला कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठविरुद्ध ‘गद्दार’को आरोप लगाएको प्रसंग सबभन्दा चर्चित छ ।

सिंहले पुष्पलाललाई गद्दार मात्र आरोप लगाएनन्, ‘गद्दार पुष्पलाल’ नामक पुस्तक नै लेखेर राजनीतिक भण्डाफोर गरे । किन त ? कारण ठूलो छैन । महासचिव सिंह भन्छन्, ‘त्यतिबेला पुष्पलालजीसँग नेपाली कांग्रेस, रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीलाई हेर्ने दृष्टिकोणमा सैद्धान्तिक मतभेद थियो ।’

कम्युनिष्ट सिद्धान्तमा सामन्त र दलालको पार्टीलाई दुश्मन र राष्ट्रिय पुँजीपतिको पार्टीलाई मित्रशक्ति मान्ने चलन रहेको भन्दै उनी भन्छन्, ‘नयाँ जनवादी क्रान्तिका लागि पनि कांग्रेस मित्रशक्ति हो भन्ने पार्टीको स्वीकृत धारणा थियो । हामीबीच रुस र चीनलाई हेर्ने दृष्टिकोणबारे पनि सैद्धान्तिक वैचारिक मतभेद थियो ।’

पछि सिंहसहित केही नेता जेल परे । जेलभित्रै कांग्रेसबारेको धारणा बदल्ने निर्णय भयो । ‘कांग्रेस सामन्त र दलालको पार्टी हो भन्ने निचोड निकाल्यो । वर्गीय रुपमा कांग्रेस दुश्मन शक्ति हो । कार्यगत एकता, संयुक्त मोर्चा आदिमा सँगै बस्न सकिन्छ, तर मित्रशक्ति हुन सक्दैन भन्ने निष्कर्षमा पुग्यौं’ सिंह भन्छन्, ‘जेलबाट बाहिर निस्कँदा पनि हाम्रो यो विश्लेषणमा परिवर्तन आएन । चौथो महाधिवेशनमा पनि त्यही लाइन पास गर्‍यौं । र, दुश्मन शक्ति ९कांग्रेस०लाई मित्र शक्ति भन्ने मान्छे गद्दार हुन्छ भन्ने हाम्रो विश्लेषण रह्यो ।’

मसालले अर्को सम्मेलनबाट पुष्पलालबारे पुनःमूल्यांकन मात्र गरेनन्, ‘गद्दार पुष्पलाल’ पुस्तकको नाम फेरेर ‘क्रान्तिमा भ्रान्ति’ राखेको छ । मसालका नेता सिंहको निष्कर्ष छ, ‘हाम्रा केही मतभेद भए पनि पुष्पलालले जीवनभरि राजतन्त्रको विरोधमा संघर्ष गर्नुभयो । नयाँ जनवादी क्रान्ति र कम्युनिष्ट पार्टीका लागि लाग्नुभयो, पञ्चायतविरुद्ध संघर्ष गर्नुभयो । त्यसैले उहाँलाई गद्दार भन्नु सही होइन भन्ने निष्कर्षमा पुग्यौं । र, गद्दार भन्ने विश्लेषण बदल्यौं ।’ अनलाईन खबरबाट

प्रतिकृया दिनुहोस्