OnlinePana

आज : २०८३ जेठ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १५, २०८३काठमाडौं
२४ पटक

१५ जेठ २०८३, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधानतः राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भएमात्र गणतन्त्रको औचित्य स्थापित हुने बताउनुभएको छ ।

आज मनाईदै गरेको १९औं गणतन्त्र दिवस–२०८३ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले नेपालको इतिहासमा जनताको बलिदान, त्याग, संघर्ष र लोकतान्त्रिक आन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण दिन साँचो अर्थमा नेपाली जनता सार्वभौम बनेको नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएको बताउनुभएको छ ।

दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभएको छ, “संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन सक्दैन । जनतालाई केन्द्र बिन्दुमा राखेर उनीहरुको इच्छा र उनीहरुका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउछ । गणतन्त्र विगतका अन्य कुनै प्रणालीभन्दा शासन व्यवस्थाका हिसावले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली भएकोले यस व्यवस्थामा हाम्रा आचारण र व्यवहार उन्नत तथा सुसंस्कृत हुनुपर्दछ ।”

जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सृदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने बताउनुभएका उहाँले प्रणाली विकासका क्रममा कमी कमजोरीहरु देखा पर्नु र नागरिकका आशातित अपेक्षा पुरा नहुँदा कहि कतै वितृष्णा र टिका—टिप्पणीका स्वरहरु सुनिनु स्वभाविक प्रक्रिया भएको उल्लेख गर्नुभएको छ । यद्यपि कार्यशैली, व्यवहार र आचरणहरु सुधार गर्नुपर्ने तर कमीकमजोरीहरुलाई व्यवस्थाको असफलतासँग जोडेर गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्काउने खोज्ने असंवैधानिक कदमहरु नेपाली जनताले स्वीकार नगर्ने र इतिहासको गति पछाडि नफर्किने उहाँले बताउनुभएको छ ।

विगतमा राजनीतिक व्यवस्था परिवर्तनमा दलहरुबीचमा देखिएको सहमति, सहकार्य र एकताको भावनालाई आत्मसात गर्दै अब मुलुकको विकास र संमृद्धिमा पनि दलहरुबीच साझा सहमतिको विकल्प नभएको उल्लेख गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको जगमा बनेको संघीय सरकारले गणतन्त्रको थप सुदुढीकरणमा दलहरुबीच सार्थक संवाद र सहकार्य बढाउन तथा यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।

यस ऐतिहासिक दिवसले राष्ट्रियता सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न उत्प्रेरित गरोस् भन्ने कामना गर्दै उहाँले लोकतन्त्र, गणतन्त्र, संघीयता तथा सामाजिक न्यायको स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरुप्रति श्रद्धा तथा आन्दोलनका क्रममा घाइते, बेपत्ता परिवारजनमा उहाँले उच्च सम्मान प्रकट गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्