
१५ जेठ २०८३, शुक्रबार
‘कर्णाली छोरी सम्मेलन’ दोस्रो संस्करण भोलिदेखि सुरु हुने भएको छ । ज्योति फाउन्डेसनले गत वर्षदेखि सञ्चालन गर्दै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो ।
फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले शुक्रबार पत्रकार सम्मेलन गरी यही जेठ १६ र १७ गते दुई दिनसम्म सुर्खेत वीरेन्द्रनगरमा छोरी सम्मेलन सञ्चालन हुने जानकारी दिनुभयो ।
‘बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको ’ उहाँले भन्नुभयो, ‘यसमा कर्णालीका ७९ वटै स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहनेछ ।’
हरेक स्थानीय तहबाट दुई–दुई जना छोरीहरू सहभागी हुने बताउँदै उहाँले राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका छोरीहरूसहित करिब दुई सय ५० भन्दा बढीको सहभागिता रहने जनाउनुभयो ।
अध्यक्ष कटुवालका अनुसार सम्मेलनको मुख्य उद्देश्य लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा व्यापक छलफल गर्नुका साथै यसबाट आएका निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गरिनेछ ।
सम्मेलन अवधिभर कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन सङ्घर्षका कथा प्रस्तुत दर्शकमाझ प्रस्तुत गर्ने आयोजक ज्योति फाउण्डेसनले जनाएको छ ।




