OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ ५, २०७८जुम्ला,
११०५ पटक

५ असार २०७८, शनिबार

‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशाला आजबाट शुरु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा देशैभरिका सरोकारवालाहरु सहभागी हुने गरी कार्यशाला सञ्चालन गरिएको हो ।

तीन दिवसीय राष्ट्रिय कार्यशालाको भर्चुअल समुद्घाटन सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभयो । उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सभामुख सापकोटाले नमूना विद्यालय निर्माणका लागि सोच र दृष्टिकोण नमूना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर हाम्रो विचार, सोच र दृष्टिकोण नमूना हुनुपर्छ भने अर्कोतिर ईमान्दारिता र निष्ठापूर्वक काम गर्न ईच्छाशक्ति हुनु जरुरी छ ।”

हाम्रो ईच्छाशक्तिले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुने विचार व्यक्त गर्दै सभामुख सापकोटाले मुलुकमा अहिले देखिएको कोरोना, राजनीतिक र बाढी पहिरोको संकटलाई सामना गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो । शिक्षाको बहुआयमिक मोडेलका विषयमा बहस आवश्यक भएको औंल्याउनुभएका उहाँले अब यसमा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभामुख सापकोटाले दुनियाँलाई व्याख्या, विश्लेषण गर्ने भन्दा बदल्ने कुरा ठूलो भएको सुझाउँदै समाज बदल्न नमूना एवं नैतिक शिक्षा र त्यसका लागि नमूना एवं नैतिकवान चरित्र अहिलेको अपरिहार्यता हो, भन्नुभयो । शिक्षा क्षेत्रले यो समयमा दीर्घकालीन क्षति व्यहोरेको यद्यपि जीवन धान्नका निम्ति मात्र नभई दीर्घकालिन आवश्यकता परिपूर्तिका लागि अभियान्ताहरु फेरी एकपटक वैज्ञानिक, व्यवहारिक र सीपयुक्त शिक्षा बनाउनेतर्फ लाग्न उहाँले अनुरोध गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले संभ्रान्त र कमजोर वर्गको पढ्ने शिक्षा प्रणाली कायम रहिरहेसम्म शिक्षामा समानता नआउने बताउनुभयो । “अँझ सामन्ती अवेशष बाँकी नै छ,” नेता शर्माले भन्नुभयो, “अहिलेको शिक्षाबाट राष्ट्रिय चेतना र आत्मनिर्भर जनशक्ति उत्पादन हुन नसक्नुमा यसमा देखिएको दलाल पूँजीवादी समस्या, असमानता र विभेद नै हो ।”

उहाँले सरकारले नमूना विद्यालय बनाएर पनि व्यवहारिक विद्यालय बनाउन नसकेको टिप्पणी गर्नुभयो । अब तहगत रुपमा नमुना विद्यालय बनाएर लैजानुपर्ने नेता शर्माको सुझाव थियो । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गंगाधर तुलाधरले संवैधानिक र नीतिगत व्यवस्थाका लागि गरिएका प्रयास अहिलेको सरकारले टोकरीमा फाल्ने प्रयास गरेको आरोप लगाउनुभयो । धेरै लामो प्रयासमा ल्याएको शिक्षा नीति अगाडि बढ्न नसकेको भन्दै पूर्वमन्त्री तुलाधरले अबको १० वर्षमा शिक्षामा प्राथमिकता दिएर लगानी गरे नीजि विद्यालय आफै कम हुँदै जाने जिकिर गर्नुभयो ।

नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पूर्वाधारले बनेको विद्यालय भन्दा सिकाईमा योगदान दिन सक्ने विद्यालय मात्र नमूना हुन सक्ने विचार व्यक्त गर्नुभयो । “नेपालको संविधानले हामीलाई देखाएको सम्मुनत बाटो अंगाल्न नसक्दा आज शिक्षामा यस्तो खालको समस्या आएको हो,” नेता थापाले भन्नुभयो, “अहिले सामुदायिक विद्यालयको विश्वसनीयता बढाउन नमूना विद्यालयतर्फ जोड दिईएको छ ।” शिक्षा र स्वास्थ्यको गुणस्तरीय विकास हुन नसकेको उहाँको भनाई थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारीले नेपाल ग्लोबल र डिजिटल युगमा परिवेश गरिसकेको तर नमूना विद्यालयका नाममा प्राज्ञिक अंक ल्याउने काम मात्र भएको टिप्पणी गर्नुभयो । “देशमा ३५ हजारमा २८ हजार सरकारी सामुदायिक विद्यालय छन्,” अध्यक्ष अधिकारीले भन्नुभयो, “त्यसमा मात्र ४२२ लाई मात्र सरकारले नमूना विद्यालय बनाउन थालेको छ ।” सबै विद्यालयहरु नमूना हुनुपर्ने र नयाँ बहस थाल्न सन्देश दिने उद्देश्यले तीन दिवसीय राष्ट्रिय कार्यशाला सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

शैक्षिक अभियान्ता श्रीमन्त भट्टराईले नमूना विद्यालय निर्माणको विषयमा अवधारणपत्र समेत सार्वजनिक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले देशभरमा शुरु गरिएका नमूना विद्यालयमा धेरै व्यवस्थित हुन नसकेको बताउनुभयो । अभियान्ता भट्टराईले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक अवस्था, भौतिक पूर्वाधार, जनशक्ति, राजनीतिले पारेको प्रभावका विषयमा प्रष्टचित्र प्रस्तुत गर्नुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले कार्यपत्रमा राम्रा विद्यालयहरुका नमूना र तस्विहरु हुन आवश्यक रहेको बताउनुभयो । “मोडल भएन मात्रै होईन, मोडल के हो त? भन्ने विषयमा निष्कर्ष निकाल्नुपर्छ,” महानिर्देशक अर्यालले भन्नुभयो, “सामुदायिक विद्यालय राम्रो छैन, नेपालका विद्यालय काम छैनन भन्ने बुझाईमा पनि भ्रम छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले विद्यार्थीको रोजाईको विद्यालय हुनेगरी नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयको आकर्षण बढाउने र उच्च संभावना भएका विद्यालयहरुलाई रोलमोडल बनाउने योजना अगाडि सार्नुपर्ने प्रवक्ता शर्माको भनाई थियो ।

चितवनको माणी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माणी नगरपालिकाले एउटा ईसिडिलाई नमूना घोषणा गरिएको जानकारी दिनुभयो । सो अनुसारको व्यवस्थापन गरिएको भन्दै अब नगरपालिकाभरि घोषणा गर्ने तयारी भएको बताउनुभयो । सरकारले अहिले माध्यामिक विद्यालयलाई मात्रै नमूना बनाउने घोषणा गरेको तथापिआधारभुत विद्यालयहरुलाई पनि नमूना विद्यालय निर्माण गर्नेतर्फ जोड दिन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

भर्चुअल कार्यशालामा विभिन्न नमूना विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ, अभियान्ता, शिक्षक संघ, संगठनका प्रमुख प्रतिनिधिहरुले आफ्ना प्रस्तुतिहरु राखेको थिए । तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा आज मात्र करिब ७०० जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्