OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७८काठमाडौं
८१२ पटक

४ असार २०७८, शुक्रबार

मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् ।

एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा र एक जना चिनियाँ नागरिकको इन्द्रावती–११ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

सम्पर्कविहीन भएका त्रिपुरासुन्दरी–१ का देव खत्री, राम थापा, सुभाष जिरेल र कमल खत्रीको नेपाली सेनाले उद्धार गरेको छ । बाढीमा परी मेलम्ची नगरपालिका–४ का कुमार तामाङसहित दुई भारतीय र दुई जना चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेको बी एन्ड बी र मेलम्ची सुरक्षा बेस क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका ६५ जनालाई चिनो हाइड्रोपावर ललितपुरनजिक स्थानान्तरण गरिएको छ । त्यस्तै मेलम्ची खानेपानीमा कार्यरत मजदुर तथा बाढीबाट प्रभावित अन्य स्थानीयवासीसहित थप ९४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा दुई भारतीय र एक चिनियाँ नागरिकसहित हेलम्बु गाउँपालिका–२ का माधव भण्डारी, ज्ञानेन्द्र कक्षपति र गणेश ज्योति, हेलम्बु–३ की टीकामाया खड्का, हेलम्बु–६ का च्याङ्गा तामाङ र काली तामाङ, हेलम्बु–१ का सुनील, पूर्ण, कामी तामाङ र उहाँकी आमा, चौतारा साँगाचोकगढी नगरपालिका–१४ का सुरेन्द्र नेपाल, ठेगाना नखुलेको होमराज घिमिरे र विजय बासुमन्तरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिए ।

मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्