OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०७८जुम्ला
११९४ पटक

३० जेठ २०७८, आईतबार

चिकित्सा क्षेत्रको बहुप्रतिक्षित एमबीबीस कार्यक्रम अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शुरु हुने पक्का भएको छ ।

चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले प्रतिष्ठान जुम्लामा स्नातक तहको एमबीबीएस लगायतका कार्यक्रम शुरु गर्ने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाईको वैधानिक ढोका खुलेको छ । आयोगका सूचना अधिकारी सेमन्तराज कोईरालाले प्रतिष्ठान जुम्लामा एमबीबीएस कार्यक्रम शुरु गर्ने निर्णय भईसकेको बताउँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

“कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भएपनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ,”  सूचना अधिकारी कोईरालाले भन्नुभयो, “हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई करिब २५ सीट दिने गरी निर्णय भएको छ ।” यद्यपि भएका निर्णय आधिकारिकरुपमा एक÷दुई दिनभित्रै सार्वजनिक गरिने उहाँको भनाई थियो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाले कर्णालीको कोशेढुङ्गाको रुपमा लिईएको बहुप्रतिक्षित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सरकारले गरेको सहयोगप्रति कृतज्ञता प्रकट गर्नुभयो । “स्नातक तहको डाक्टरी पढाई कर्णालीको विकासको कोशेढुङ्गा हो,” शिक्षाध्यक्ष डा.थापाले भन्नुभयो, “यस अघि आयोगले स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाईका लागि पाँच सीट दिएको थियो ।”

चिकित्सा शिक्षा आयोगले सीट दिएसँगै प्रतिष्ठान जुम्लामा स्नातोकत्तर तहको विशेषज्ञ डाक्टरी पढ्न कर्णाली पुग्नुभएका भक्तपुरका डा.रहिस कोजु, काठमाडौं निवासी डा.प्रशंसा ताम्राकार र कपिलवस्तुका डा.वेदकुमार चौधरी जनरल ‘एमडी ईन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत रहेको उहाँले बताउनुभयो ।

शिक्षाध्यक्ष डा.थापाका दार्चुला (हाल धनगढी) निवासी डा.ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका मुन्ना केशरी पेडियाट्रिक्समा स्नाकोत्तर तहको चिकित्सा शिक्षा अध्ययन गरिरहनुभएको छ । एमबीबीएस कार्यक्रम शुरु हुनेभएपछि ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने कर्णालीवासीको सपना अब पुरा हुने निश्चित भएको प्रतिष्ठान पहल समितिका संयोजक तथा कर्णाली प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताउनुभयो ।

“अब कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पुर्याउने गरी डांक्टर जनशक्ति उत्पादन गर्दछ,” मन्त्री भण्डारीले भन्नुभयो, “बिगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकहरुसमक्ष सेवा पुर्याउने मर्मलाई आत्मसाथ गर्दै आफ्नो गन्तव्य तय गर्छ ।”

हिँजो सिटामोलको चक्की नपाउने कर्णाली आज विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण हुँदा ईच्छाशक्तिका अगाडि असंभव ठानिएका हरेक कुरा असत्य सावित हुँदा रहेछन् भन्ने चरितार्थ दुर्गम कर्णाली प्रदेशको जुम्लामा भईरहेको स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पठनपाठन र चालु आव.भित्रै शुरु हुने एमबीबीएस कार्यक्रमले गरेको छ ।

 

प्रतिकृया दिनुहोस्