OnlinePana

आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २४, २०८२
७ पटक

२३ कात्तिक २०८२, आईतबार

सुर्खेतः कर्णालीमा ‘विश्व भोकमरी सुचाङ्क–२०२५’को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक बोल्दै मन्त्री शाहले ‘विश्व भोकमरी सुचाङ्क–२०२५’को प्रतिवेदन सार्वजनिक गर्दा नेपाल र त्यसमा कर्णालीले सुधार्नुपर्ने कुरा मार्गनिर्देशन भएको बताउनुभयो ।

उहाँले शून्य भोकमरी अभियानलाई टेवा पुर्याउन कर्णाली सरकारले खाद्य सम्प्रभुता ऐन, प्राङ्गारिक कृषि ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, कृषि रणनीतिका साथै प्रागशेचन रणनीतिको (मस्यौदा) तयार गरेको जनाउनुभयो । मन्त्री शाहले भन्नुभयो, “कर्णालीमा खेतीयोग्य जमिन कम छ । यद्यपि कम जमीनबाट बढी मूल्यका वस्तु उत्पादन गर्न सक्ने गरी सरकारले लागेको छ ।

सार्वजनिक प्रतिवेदनले सुचाङ्कमा उल्लेख भएका कुराहरुले कर्णाली प्रदेश सरकारको नीति निर्माणमा सहयोग पुर्याउने जनाउँदै उहाँले कृषिसँग सम्वद्ध कर्मचारीहरु र कृषकहरुले यसले विशेष मद्दत पुग्ने बताउनुभयो । यो प्रतिवेदनमा उल्लेख विषयवस्तुहरु स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेशका सचिव र कृषि विज्ञहरुले अनिवार्य अध्ययन गर्नुपर्ने भन्दै मन्त्री शाहले जनताको व्यवहारमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो ।

लिबर्डका कार्यक्रम प्रमुुख लक्ष्मण खत्रीले विगत सात वर्षदेखि लिबर्डले नेपालमा भोकमरी सुचाङ्क प्रतिवेदन सार्वजनिक गर्दै आएको जनाउँदै नेपालमा पुट्कोपन हटाउन नसकिएपनि ख्याउटेपन, बाल मृत्युदरमा सुधार आएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । ‘दीगो विकास लक्ष्य अनुसार पोषण सम्बन्धि बहुआयामिक कार्यक्रम कार्यान्वयन गर्नसके भोकमरी शुन्यमा झार्न सकिने उहाँको भनाई थियो ।

“यसमा तीनै तहका सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ” उहाँले भन्नुभयो, “खाद्य असुरक्षा हटाउन कर्णाली र सुदुरपश्चिममा कृषि र पोषण सम्बन्धि हामीले कार्यक्रम सञ्चालन गरिरहेको छौं । कार्यक्रम लागु भएका ठाउँमा केही सुधार पनि आएको छ ।” वेल्ट हङ्गर हिल्फेका देशीय निर्देशक साकिव नावीले कुरा गर्ने र योजना बनाउने मात्रै नभई कार्यान्वयन गर्नेगरी तीनवटै तहका सरकारले काम गर्नसके भोकमरी शुन्यमा झार्न सकिने बताउनुभयो ।

विज्ञ विकास देउजाले विश्वभर विभिन्न राजनैतिक द्वन्द्वका कारण भोकमरी शुन्यमा झार्ने लक्ष्य हाँसिल हुन चुनौति नै रहेको बताउनुभयो । विश्वमा नेपाल मध्यम रहेको जनाउँदै उहाँले यही गतिमा काम गर्दै जाँदै भोकमरी शुन्यमा झार्न विश्वलाई अँझै सय वर्ष लाग्ने बताउनुभयो । नेपालले पनि सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखेपनि नेपालमा कुल जनसंख्याको ५.२ प्रतिशत जनसंख्या गम्भीर भोकमरीको समस्यामा रहेको उहाँको भनाई थियो ।

पोषणविज्ञ सोमा कुमारी रानाले भोकमरीको सुचाङ्कमा विश्वका एक सय २३ देशमध्ये नेपाल ७२औं स्थानमा रहेको बताउनुभयो । सन २०१६ देखि यहाँसम्म आउदाँ खाद्य सुरक्षामा खासै सुधार नआएको जनाउँदै उहाँले भन्नुभयो, “नेपालमा अहिले पनि हरेक आठ जनामा एक जना भोकै हुन्छ । हरेक पाँच जना बालबालिकामा एकजना खान नै पाउँदैन । कर्णालीमा ३२ प्रतिशत परिवार खान नपुग्ने अवस्थामा छन् । यस्तो अवस्था अन्त्य गर्न सबै निकाय जुट्नुपर्छ ।”

वेल्टहंगरहिल्फे, कन्सर्न वल्र्डवाइड र आइएफएचभीले विश्व, क्षेत्रीय र राष्ट्रियस्तरमा भोक तथा कुपोषणको स्थिति मापन र मूल्याङ्कन गर्न वार्षिक रुपमा ग्लोबल हंगर इन्डेक्स प्रतिवेदन जारी गर्ने गर्दै आएको बताईएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी सरोकारवालाहरुले शून्य भोकमरी अभियानलाई सहयोग पुग्ने कार्यक्रमहरुको प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिनुपर्ने औंल्याएका थिए ।

कार्यक्रम कर्णाली तथा सुदूरपश्चिम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवद्वय सञ्जीवकुमार कर्ण र शंकर शाह, बुढीगंगा नगरपालिका बाजुराका नगरप्रमुख रामबहादुर बानिया, बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन, युनिसेफ बहुक्षेत्रीय पोषण योजनाका पोषण अफिसर शेरबहादुर दहितसँग लीवर्डका रिता गुरुङले सुदूरपश्चिम र कर्णालीको रेथानेबाली, पोषण, खाद्य सुरक्षा, बनेका नीति एवं ऐन र भएका सफल अभ्यासका बारेमा छलफल चलाउनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्