OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १७, २०७६ सुर्खेत
६९५ पटक

सुर्खेत, १७ कार्तिक ः कनकासुन्दरी गाउँपालिका ७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । द्यारापाटा गाउँकै झावटी नामको गडा (गह्रा)मा जोत्दै गर्दा विसं. २०४३ साल पुस महीनामा तीन चाँदीका बाला र ६२ सुनका असर्फी पाईएका थिए ।
सिंजा खस सम्राज्य हुँदाको समयमा तत्कालीन् राजाहरुले लुकाएको धन हुन सक्ने अनुमान गरिएको सुनको असर्फी नन्दलालका भाई धनलाल उपाध्याय र हली (गह्रा जोत्ने) जोखे कार्कीले गाउँदेखि करिब दुई घण्टा टाढा रहेको झावटी गह्रामा जोत्न जाँदा भेटाएका थिए । सुन पाईसकेपछि गाउँका मान्छेहरुले एक पछि अर्को गर्दै थाहा पाए ।
भाई र हली दुवैले पाएको सुन गाउँका नायक मुखियाहरुले केही भाग आफूलाई दिन नन्दलाललाई आग्रह गरेका थिए । माग्नेहरुलाई आफ्नै गह्रामा पाएको सुन उहाँले दिन ईन्कार गरेपछि गाउँकै उनीहरुले सुन, हार, हिरा, माला, मुकुट, मुर्ति पाएको भन्दै आफुहरु विरुद्ध प्रशासनमा उजुरी हालेको नन्दलाल उपाध्यायले जानकारी दिनुभयो ।
मुद्दा हालेपछि शुरुमा आफूसहित भाई धनलाल, बुहारी देवीकन्या उपाध्यायका साथै हली जोखे कार्की पक्राउ परेको उहाँको कथन थियो । त्यसपछि जार शाही, देवी सिंह, गोरखबहादुर, धनबहादुर कार्कीलगायतका व्यक्तिहरु पनि पक्राउ परेको उहाँले जनाउनुभयो । प्रशासनले तिनी चारै जनालाई दुई÷चार दिन राखेर छाडेपनि आफुहरुले वर्ष दिनसम्म कष्ट काटेको उहाँको दुखेसो थियो ।
“तत्कालिन् अञ्चलादेश जगदीश खड्काको आदेशमा मसहित भाई नन्दलाल उपाध्याय, बुहारी देवीकन्या उपाध्याय र जोखे कार्कीलाई पक्रेर लग्यो,” उहाँले भन्नुभयो, “तत्कालिन् केन्द्रीय कारागार जुम्ला र क्षेत्रीय सुर्खेत गरेर एक वर्ष जेल सजाय भुक्तान गरे ।” दुःख पोख्दै उपाध्यायले सुनाउनुभयो, “चार जना विरुद्ध हालिएको मुद्दा जितियो तर के गर्नु मुद्दा जितेपनि अहिलेसम्म हामीले आफ्ना सुनका ५७ असर्फी पाएको छैनौं ।” त्यसैबीच, उहाँले बिरहको गीत व्यक्त गर्नुभयो ः
एक त कानु, एक त नानु (सानो) उही पनि रहेन ।
मेरो जस्तो घटी कर्म कसैको भएन ।।
उहाँका अनुसार सुन पाउँने जोत्ने हली जोखे कार्की र घरधनी धनलाल उपाध्यायको मृत्यु भईसकेको छ । यद्यपि आफुहरुले जितेको फैसला र फैसला अनुसार पाउन नसकेको धन र क्षेतिपूर्तिका विषयमा अहिलेसम्मका कुनैपनि सरकारले नबोलेको उहाँको गुनासो छ । तत्कालिन् प्रशासनले मेसिननरी उपकरण लगाएर सुरक्षित राखेको धन लगेर आफूलाई दिनु धोका दिएको उहाँको आरोप छ ।
प्रहरी प्रशासनमा काम गर्ने मुगु कार्कीबाडा निवासी दियप्रसादको सुराकीले आफूलाई अप्ठ्यारोमा पारेको उहाँको भनाई थियो । भूतपूर्व सहायकमन्त्री स्व.अदनसिंह कठायतले तत्कालीन पञ्चायतकालीन् ऐन पल्टाएर आफुहरुलाई मुद्दा लगाएको र त्यही मुद्दा अनुरुप अञ्चलादेशको अड्डामा ५७ सुनका असर्फी दाखिला गरिएको उपाध्यायले बताउनुभयो । जुन सुनको असर्फीहरुको अभिलेख पुरातत्व विभागमा र वसन्तपुर संग्राहलयमा सिक्का राखिएको उहाँको भनाई थियो ।
हामी सुनधनी हौं, लुटेरा होइनौं
नन्दलाल उपाध्यायले दुखेसो पोख्दै भन्नुभयो, “आफ्नै गडा (गह्रा) मा सुन पाउनु निकै ठूलो दुर्भाग्य भयो । हामी त वास्तविक सुनधनी हौं, लुटेरा होइनौं । सुन पाउनु हाम्रो अपराध थिएन नत कुनै भूल नै । बिडम्बना, तत्कालीन् पञ्चायती राज्य सत्ताले आफ्नै गडा (गह्रा) मा पाएको सुनका असर्फी खोसेर मात्र लिएन, जेलमै कोचेर यातनासमेत दियो ।”
उहाँले अगाडि भन्नुभयो, “सुन पाउँदा अत्यधिक दुःख पाईयो । भाई धनलाल उपाध्याय र हली जोखे कार्की त्रिपुरेश्वर काठमाडौं जेलमा सरुवा गरेर दुःख दिईयो । मैले जुम्ला, दैलेख, सुर्खेत, पोखरा धाउनु प¥यो । खल्तीमा धन पनि रहेन । न राज्यले हामीलाई चिन्यो नत सुन पाईएको ठाउँको उत्खनन् र जग्गाको उचित सुरक्षा गर्ने वातावरण मिलायो ।
“अन्ततः विसं. २०४६ सालतिर मुद्दा हाम्रै नाममा फैसला भयो । उतिबेला नै फैसला हाम्रा नाममा भएपनि राज्यले हामीलाई ५७ सुनका (सिक्का) असर्फी वा त्यो बराबरको धन अहिलेसम्म फिर्ता गरेको छैन तर फिर्ता गर्नुपर्दछ,” उहाँले भन्नुभयो । यदि फैसलाको कार्यान्वयन नगरिए त्यही लिएर राज्य सामु पुग्ने उहाँको चेतावनी थियो ।
राणाकालिन्, निर्दलीय, पञ्चायती, बहुदल हुँदै मुलुकमा संघीय लोकतान्त्रिक व्यवस्था आएपनि आजका दिनसम्म आफूहरुले न्याय नपाएको उहाँको जिकिर थियो । तत्कालीन् राज्य व्यवस्था पतन भईसकेकोले अहिलेको सरकारले आफ्ना दुःख बुझिदिनुपर्ने उहाँको आग्रह छ ।

प्रतिकृया दिनुहोस्